
झापा – आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा बिहीबारदेखि भाटभटेनी सुपरमार्केट सञ्चालनमा आउँदै छ।
सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ।
२६ औँ शाखाका रुपमा बिर्तामोडमा स्थापना भएको भाटभटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने भएको छ।
सुपर मार्केटमा झापा, इलाम जिल्लासहित भारतबाट समेत ग्राहकहरु सपिङ गर्न आउने सञ्चालक मीनबहादुर गुरुङको भनाइ छ। सुपर मार्केटको सम्पूर्ण कामहरु सकिएको जनाइएको छ।
बिहीबार बिहान ६। ३० बजेको साइतमा सञ्चालक मीनबहादुर गुरुङले उद्घाटन गर्ने जनाइएको छ।
उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सुपरस्टोरका प्रेस हेर्ने जिम्मेवारी पाएका गौतम भुसालले जानकारी दिए।
२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाटभटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ। सातौँ तल्लासम्म रहेको भाटभटेनी झापाकै ठूलो सुपरमार्केट हो।