
विवाहले दुई व्यक्ति महिला र पुरुषबीच कानुनी सम्बन्धको निर्माण गर्दछ, प्रत्येक देशको कानुनले बिबाह पश्चात महिला र पुरुषलाई कानुनी दायित्वको बोध गराउँछ । जब श्रीमान् र श्रीमतीले विवाहको कानुनी सम्बन्धको अन्त्य गर्दछन्, यसलाई नै सम्बन्धविच्छेद भनिन्छ । सम्बन्ध विच्छेद एक जटिल समस्या हो । सँगै जिउने र सँगै मर्ने कसम खाएका श्रीमान्श्रीमती आखिर किन कानुनी सम्बन्ध अन्त्य गर्न चाहन्छन् त?यसका पछाडि केही मनोवैज्ञानिक कारणहरु रहेका छन् :
१) भावना आदान प्रदानमा समस्या: श्रीमान् श्रीमती एक रथका दुइ पाँग्रा भन्ने प्रचलन नै रहेको छ, यदि एउटा रथ उत्तर जान खोज्यो अनि अर्को रथ दक्षिण जान खोज्यो भने के होला त? रथले काम गर्ला त? पक्कै पनि नगर्ला, यस्तै गरेर श्रीमती श्रीमतीमा पनि राम्रोसँग भावना साटासाटमा समस्या पर्यो, एकले अर्कोलाई आफ्नो मनको कुरा खोलेर राख्न सकेन वा पाएन, एक अर्काको आवश्यकता राम्रोसँग राख्न पाएन भने पनि सम्बन्धमा दरार पैदा हुन सक्छ र जसले गर्दा असझमदारी पैदा हुन सक्छ ।
२) नसुल्झिएको द्वन्द्व: श्रीमान् श्रीमतीकोबीचमा सामान्यतया झगडा हुनुलाई ठूलो कुरा मान्ने चलन छैन नेपालीमा एउटा उखान प्रचलित छ, लोग्ने स्वास्नीको झगडा परालको आगो तर यसरी बेलाबेलामा हुने द्वन्द्वलाई समयमा नै सुल्झाइएन भने त्यो परालको आगोले घर नै जलाउन पनि सक्छ र कुरा सम्बन्ध विच्छेदसम्म पुग्न पनि सक्छ ।
३) विश्वासघात : विश्वासघात भनेको श्रीमान् वा श्रीमतीले विश्वास तोड्नु हो । जस्तै श्रीमान् वा श्रीमती बाहीरी सम्बन्धमा रहनु, परपुरुष वा महिलासँग शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरु विश्वासघातभित्र पर्दछ ।
४) असहजता : श्रीमान् र श्रीमती जीवनभर सँगैबस्ने भनेर विभिन्न किसिमको कसमसमेत खाने गरेको देखिन्छ, जब दिन, रात, महिना र बर्ष नै सँगै बस्न थाल्दा उनीहरु एक अर्काप्रति असहज महसुस गर्न थाल्दछन् किनभने उनीहरुको भावनामा मेल खान छोड्छ, रहनसहन पनि सोचेअनुसारको नहुन सक्छ ।
५) मनोवैज्ञानिक समस्या : मानसिक कारणहरु जस्तै मनोविकार, चिन्ता, तनाव जस्ता कारणले विवाहमा समस्या पैदा गर्न सक्छन् जसले गर्दा बारबार श्रीमान र श्रीमतीको बीचमा झगडा उत्पन्न भई सम्बन्ध विच्छेदसम्म पुग्न सक्छ ।
६) आत्मीयताको अभाव : भावनात्मक र शारीरिक आत्मीयता सफल बिबाहमा हुनुपर्ने मुख्य कारण हो । जब बिबाह कागजमा मात्र सीमित हुन्छ तब यसले सम्बन्ध बिच्छेदको रुप हुन्छ । श्रीमान र श्रीमतीको सम्बन्धमा दरार पैदा हुने मुख्य कारणमा आत्मीयतामा कमी हुने कुरा धेरैजसो अनुसन्धानहरुले उजागर गरेको छ । आत्मीयतामा कमी हुँदा व्यक्तिहरुले एक्लोपन महसुस गर्दछन् ।
७) प्राथमिकता र जीवनशैलीमा परिवर्तन : समयसँगै व्यक्तिको इच्छा आकांक्षाहरुमा पनि परिवर्तन हुँदै जाने गर्दछ । जीवन श्रीमान र श्रीमतीको जीवन शैली, सोच्ने तरिका र अन्य कुरामा परिवर्तन हुँदै जान्छ यसले सम्बन्ध विच्छेदसम्म कुरा पुग्दछ ।
नेपालको मुलुकी संहिता २०७४ अनुसार सम्बन्ध बिच्छेदको कानुनी प्रावधान निम्नानुसार रहेको छ ।
नेपालको मुलुकी देवानी संहिता २०७४ को धारा ९३ अनुसार पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन् । दुवैको सहमति नभएमा धारा ९४ अनुसार पतिले सम्बन्ध विच्छेद गर्न सक्ने निम्नानुसारको प्रावधान रहेको छ ।
(क) कानुन बमोजिम अंश लिई वा मानो छुटिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अगल बसेमा,
(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग) पत्नीले पतिलाई ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा ,
(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा ।
पति र पत्नीबीच हुने सम्बन्ध विच्छेद रहर भन्दा पनि बाध्यता नै हो जब पति र पत्नी सँगै बस्नुभन्दा पनि छुटिँदा जीवन सरल र सहज हुन्छ भने विवाहलाई अन्त्य गर्ने अवस्थामा पुग्दछन्।
मुलुकी देवानी संहिताको धारा ९५ अनुसार पत्नीले देहायको अवस्थामा सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान रहेको छ ।
(क) कानुन बमोजिम अंश लिई वा मानो छुटिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा।
(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा।
(ग) पत्नीलाई ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा।
(घ) पतिले अर्को विवाह गरेमा।
(ड) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा।
(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा।
उक्त संहिताको धारा ९६ अनुसार सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ । धारा ९७ अनुसार जिल्ला अदालतमा निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाईबुझाई मेलमिलाप गराउनुपर्नेछ तर धारा ९७ अनुसा सम्झाउँदा पनि पति पत्नीको बीचमा मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरुको सम्बन्ध विच्छेद गरिदिनुपर्नेछ ।
धारा ९९ अनुसार पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ । उक्त संहिताको १०२ अनुसार पति पत्नी बीच सम्बन्ध विच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ ।
पति र पत्नीबीच हुने सम्बन्ध विच्छेद रहर भन्दा पनि बाध्यता नै हो जब पति र पत्नी सँगै बस्नुभन्दा पनि छुटिँदा जीवन सरल र सहज हुन्छ भने विवाहलाई अन्त्य गर्ने अवस्थामा पुग्दछन् हाल नेपाली समाजमा पनि सम्बन्ध विच्छेद बढ्दै गएको देखिन्छ यसको प्रमुख कारण भनेको अत्याधिक तनावयुक्त जीवन, श्रीमान र श्रीमतीमा एक अर्काप्रति समय र विश्वासको अभाव र महिलाको घर र अफिस दुवै हेर्नुपर्ने बाध्यता र महिलामा आत्मनिर्भरता बढ्दै जानुलाई पनि मान्न सकिन्छ ।