
झाप– प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ बाट निर्वाचित सांसद देवराज घिमिरेले विकास निर्माणका काममा पर्याप्त बजेट छुट्टिए पनि समयमा काम हुन नसकेको बताएका छन्।
झापाको बिर्तामोडमा बुधबार आयोजित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीसंगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आफ्नोलगायत अन्य सांसदहरूको क्षेत्रमा संघीय सरकारले विकास निर्माणका काममा पर्याप्त बजेट उपलब्ध गराए पनि सन्तोषजनक काम हुन नसकेको सभामुख घिमिरेले बताए।
उनले स्थानीय पालिकाहरू त्यस्ता विकास निर्माणका कामका बारेमा जानकारी राख्न आग्रह गरे। सभामुख घिमिरेले भने, ‘त्यस्ता काम के कारणले अलपत्र पर्यो, अब के गर्ने भन्ने विषयमा सम्बन्धित निकायमा रिपोर्ट गर्ने काम स्थानीय जनप्रतिनिधिको हो।’
निर्माणका कामका योजना बनाउँदा वैज्ञानिक ढंगले बनाउन पनि उनले आग्रह गरे। अन्तर्क्रिया कार्यक्रमका अधिकांश सहभागीले बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माणमा ढिलाई भइरहेको विषयलाई प्राथमिकताका साथ उठाए।
निर्माण पक्षबाट चरम लापरबाही भइरहेको र उक्त सडकलाई तत्काल निर्माणका लागि दवाव दिनुपर्ने अधिकांशको माग थियो।
झापा क्षेत्र नं २ मा निर्माण व्यवसायीहरुले अलपत्र बनाएका योजनाहरु बारे सभामुख घिमिरेलाई जानकारी गराइएको छ।
ऐन कानुन निर्माण नहुँदा तल्लो तहसम्म लथालिङ्ग अवस्था बनेको भन्दै सभामुख घिमिरेलाई कानुन निर्माणमा ध्यान दिन आग्रह गरिएको छ।