
झापा – समाजवादी मोर्चा नेपालले असोज २४ गते झापाको बिर्तामोडमा सन्देश सभा गर्ने भएको छ। मोर्चाले बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सन्देश सभा आयोजना गर्ने निर्णय भएको जानकारी दिएको हो। सभालाई सम्बोधन गर्न प्रमुख वक्ताका रुपमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आउने भएका छन्।
उनीसँगै नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई, जनता समाजवादीका केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सम्बोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्निले आम जनता आर्थिक अवस्थाबाट अस्तव्यस्त भइरहेको बेला त्यसलाई सम्बोधन गर्न समाजवादी मोर्चाले मात्र सक्ने भएको हुँदा सडक र सदन दुवैबाट जनताको मनोबल उकास्ने कार्यमा आफूहरू लागेको बताए।
समाजवादी मोर्चा पहिचान पक्षको गतिलो मोर्चा भएको भन्दै कोशी प्रदेशको नाममा पुनर्विचार गरिनुपर्ने उनले बताए। नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बेरोजगार समस्या, कृषकको उत्पादनलाई प्रोत्साहन, युवा पलायनलाई रोक्न मोर्चा अग्रपंक्तिमा उभिएको बताए।
नेकपाका नेता सुमन सीले एमसीसी लागू भएयता विदेशी दबदबा बढ्दै गएको र भ्रष्टाचारीहरु विदेशी आडमा उफ्रिरहेको बताउँदै राष्ट्रलाई ऋणको भारमा उभ्याउनेलाई समाजवादी मोर्चाले नस्वीकार्ने बताए।
जसपाका नेता दिपेनवाला राईले पहिचानका नाममा एमालेले खेलेको भूमिका सैह्य नभएको भन्दै मोर्चाले नै जनताले चाहेको पहिचान निर्माण गरेर जाने बताए।