
झापा – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन्। यसका लागि आज दिउँसाे एक बजे प्रदेशसभा बैठक बस्दैछ।
कार्कीले विश्वासको मत लिने तयारी गरिरहँदा उनले विश्वासको मत पाउने आधार देखिएको छैन।
नेपाली कांग्रेसले यसअघि नै कार्कीलाई विश्वासको मत नदिने जनाइसकेको छ। राप्रपाको सहयोग भए पनि एमालेले ४५ मतमात्र प्राप्त गर्ने सम्भावना छ। सरकार बनाउनका लागि चाहिने मत संख्या भने ४७ रहेको छ। प्रदेश सभामा ९३ जना सांसद छन्।
कार्कीले विश्वासको मत पाउन राजनीतिमा कुनै चमत्कार हुनुपर्ने देखिन्छ। एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवारले विश्वासको मत दिन पाउने छैनिन्। यसअघि सभामुखको भूमिका निर्वाह गरेका सांसदले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मत दिँदा सर्वोच्च अदालतले मुख्यमन्त्री थापालाई नै बर्खास्त गरिदिएको थियो।
कार्कीले विश्वासको मत नपाएको अवस्थामा गठबन्धन दलबाटै सरकार निर्माणको प्रक्रिया थालनी गर्ने कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताए।
यसअघि प्रदेश सभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए। अहिले भने त्यति मत पनि पाउने निश्चित छैन। उनले विश्वासको मत नपाएको अवस्थामा राजनीतिक समीकरण परिवर्तनका हल्ला पनि सुनिन थालिएको छ।