
काठमाडौँ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुने क्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको भए पनि प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भइ कात्तिक १२ गतेदेखि हुन लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने उनले बताए ।
जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दालेसमेत प्राथमिकता पाउने बताइएको छ । यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गरेका थिए ।
नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँगसमेत उनले भेटघाट गर्ने कार्यक्रम छ ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दवै सदनलाई यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।