
झापा – झापाको कनकाई नगरपालिका वडा नं २ मा रहेको किरातेश्वर महादेव धनुषकोटी धामको विकासका लागि सरकारको ध्यान जानुपर्नेमा स्थानीयबासी तथा धाम समितिका सदस्यहरूले जोड दिएका छन् ।
माइ नदीको किनारमा रहेको धनुषकोटी धाम परिसरमा जति विकास निर्माणका काम भएका छन् ती फुटकर योजनाबाट भएका हुन् ।
तर समितिद्वारा तयार पारिएको गुरु योजनालाई स्वीकृत गरेर सरकारले उक्त धामको समग्र विकास गर्नका लागि काम बढाउनुपर्ने किरातेश्वर महादेव धनुषकोटी धाम विकास संस्थाका सचिव कुमार पौडेलले बताए ।
उनले भने, ‘अहिलेसम्म जति विकासका काम भए सबै दाताहरूले आफैं बनाइदिएर समितिलाई जिम्मा लगाएका हुन् । हामीले पैसा लिएर आफैं बनाएको होइन।’
पौडेलका अनुसार धामको समग्र विकासका लागि गुरु योजना तयार गरेर पर्यटन तथा सँस्कृति मन्त्रालयमा दिइएको छ । तर अहिलेसम्म त्यसबारे कुनै सकारात्मक प्रतिक्रिया आइसकेको छैन । तर धाम समितिका पदाधिकारी भने मन्त्रालयबाट गुरु योजना अनुसार बजेट विनियोजन हुनेमा आशावादी देखिएका छन् ।
किरातेश्वर महादेव धनुषकोटी धाममा किनेर वा बनाएर ल्याएर राखिएको शिवलंग नभइ माइ नदीमा फेला पारेर त्यहाँ स्थापित गरिएको सचिव पौडेलले बताए ।
उनले भने, ‘यहाँ राखिएको शिवलंग प्राकृतिक हो ।’
२०६१ सालमा स्थापना गरिएको उक्त धाममा अहिले जुनसुकै शुभकार्य गर्नका लागि पर्याप्त स्थान रहेको र सेवाग्राहीले न्यूनतम शूल्क तिरेर त्यहाँबाट सेवा लिन पाउने पौडेलले जानकारी दिए ।
धाम परिसरमा संरचना बन्न थालेको त्यति धेरै समय भएको छैन । अहिले जति बनेका छन् ती विगत पाँच/छ बर्षयता बनेका हुन् ।
धनुषकोटी धाममा अर्को आकर्षणको रुपमा रहेको छ, माइ नदीमा बनेको झोलुङ्गे पुल । सांसद् राजेन्द्र लिङ्देनको पहल र सरकारको लगानीमा निर्माण भएको १ सय ४८ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले यहाँ आउने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ ।
पुलबाट हरियो वन, नदी, चुरे क्षेत्रको अवलोन गर्न सकिने भएकाले पनि पर्यटक मोहित हुने गरेका छन् । उक्त पुलले कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकालाई जोड्ने भएकाले स्थानीयबासी ‘मितेरी पुल’ पनि भन्ने गरेका छन् ।
धनुषकोटी धाम पूर्वपश्चिम राजमार्ग अन्तरगत सुरुङ्गाको ट्राफिक चोकदेखि करिब ४ किलोमिटर उत्तरमा पर्छ ।
यातायात र बाटोको पहुँचका कारण टेम्पी, सिटी सफारी वा अन्य कुनै माध्यमबाट सहजै पुग्न सकिन्छ । तर बाटो मर्मतका काम गर्न भने बाँकी छन् ।
धाममा २०६८ मा शिव महापुराण आयोजना गरिएपछि धामको गरिमा अझ बढेको स्थानीयबासी बताउँछन् । हाल धामले १०८ दीप प्रज्वलन, धर्मशाला निर्माण, वृद्धवृद्धाको सम्मान, बोलबम व्यवस्थापन, खानेपानी र बिजुली व्यवस्थापन, वृद्धाश्रम निर्माण आदि कार्यहरू गर्दै आएको छ ।
धनुषकोटीधाम संस्थाको जन्मसँगै यस धामक्षेत्रमा विभिन्न भवन र मठमन्दिरहरु आदि थपिँदै गएका छन् । यस ठाउँको प्राकृतिक तथा पर्यावरणीय सम्पन्नतालाई अक्षुण्ण राख्न र सो स्थानलाई पर्यटनको केन्द्र बनाउने कुरा चुनौतिपूर्ण देखिन्छ ।
तर प्रस्तावित गुरु योजना कार्यान्वयन भए उक्त धामको विकासका लागि बलियो आर्थिक आधार बन्ने धाम विकास संस्थाका पदाधिकारीहरूको भनाइ छ ।