लुम्बिनीमा महासचिव गुटेरेसलाई स्वागतको तयारी, पाँच दशकअघिको समिति सक्रिय बनाउन अनुरोध गरिने

लुम्बिनीमा महासचिव गुटेरेसलाई स्वागतको तयारी, पाँच दशकअघिको समिति सक्रिय बनाउन अनुरोध गरिने
+
-

बुटवल – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार लुम्बिनी आउँदैछन्। महासचिवको स्वागतका लागि लुम्बिनीमा तयारी थालिएको छ।

लुम्बिनी विकास कोषले परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिकाअनुसार मंगलबार (कात्तिक १४ गते) महासचिव गुटेरेसको भ्रमण गराउने गरी तयारी थालेको उपाध्यक्ष डा. ल्हारक्याल लामाले जानकारी दिए।

महासचिव गुटेरेस काठमाडौँबाट विमानमार्फत गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल ओर्लिने र विमानस्थलबाट हेलिकोप्टरमार्फत लुम्बिनी आइपुग्ने कोषले जनाएको छ। महासचिव गुटेरेसलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल आउने तय भएको छ।

महासचिव गुटेरेससहितको टोलीलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित सरकारी उच्च अधिकारीहरूले स्वागत गर्नेछन्।

मंगलबार बिहान ९ देखि डेढ घण्टा गुटेरेसले लुम्बिनीमा बिताउने कार्यक्रम तालिका छ। यो समयमा गुटेरेसले लुम्बिनी गुरुयोजना र त्यसको प्रगतिका बारेमा कोषका तर्फबाट जानकारी गराउने र प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसले अशोक स्तम्भनजिक उभिएर सम्बोधन गर्ने कोषका उपाध्यक्ष लामाले जनाए।

यसअघि गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धगुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन्।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भ निरीक्षणपछि पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम राखिएको छ।

५३ वर्षअघि गठन भएको समिति सक्रिय बनाउन अनुरोध गरिने


सन् १९७० मा राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तको विशेष आह्वानमा लुम्बिनीको विकासका लागि गठन भएको अन्तर्राष्ट्रिय समितिलाई सक्रिय बनाउन महासचिव गुटेरेससँग अनुरोध गरिने भएको छ।

सन् १९६७ अप्रिल २३ मा पहिलो पटक राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए। ऊ थान्तको भ्रमणपछि उनकै अगुवाईमा बनेको सो समितिमा नेपाल, थाइल्यान्ड, श्रीलंका, भारत, भियतनाम, सिंगापुर, जापान, लाओस, पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया, म्यान्मार, कम्बोडिया, बंगलादेश र भुटान गरी १५ वटा राष्ट्र सदस्य छन्।

उक्त समितिले लुम्बिनीको योजनाबद्ध विकास गर्न त्यतिबेलाका विश्वविख्यात जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई गुरुयोजना बनाउन सन् १९७२ मा जिम्मा दिएको थियो । टांगेले ६ वर्ष लगाएर गुरुयोजना बनाएका थिए। गुरुयोजना बनाउन १० लाख अमेरिकी डलर उक्त समितिमार्फत नै जापान एक्सपो फाउन्डेसन र यूएनडीपीले उपलब्ध गराएका थिए।

सन् १९८५ मा गुरुयोजना अनुरूप लुम्बिनीको योजनाबद्ध र व्यवस्थित ढंगले विकास गर्न १ हजार १ सय ५० बिघा जमिन अधिग्रहण गरी लुम्बिनी विकास कोषको गठन भएको थियो। सो समिति अहिले निस्क्रिय छ।

सन् २००५ मा राष्ट्र संघका लागि नेपालका तत्कालीन स्थायी प्रतिनिधि मधुरमण आचार्यको पालामा उक्त समितिको बैठक न्यूयोर्कमा बसेको थियो । त्यसयता समितिको बैठक बसेकै छैन। सो समितिलाई सक्रिय बनाएर लुम्बिनीको विकास र प्रचारप्रसारमा सघाउ पुर्‍याउन महासचिव गुटेरेसलाई अनुरोध गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए।

उनले गुरुयोजना निर्माणदेखि नै राष्ट्रसंघको भूमिका रहेकाले गुरुयोजना सम्पन्न गर्न र लुम्बिनीको प्रवर्द्धन गर्नका लागि साथ दिन राष्ट्र संघका महासचिवलाई अनुरोध गर्ने बताए।

‘हामीले औपचारिक रुपमै महासचिवज्यूसँग लुम्बिनी गुरुयोजना सम्पन्न गर्ने र अन्तरराष्ट्रिय समिति सक्रिय बनाउने विषयमा कुरा गर्छौं,’ उनले भने, ‘हामीलाई अहिले लुम्बिनी गुरुयोजना सम्पन्न गर्न र प्रवर्द्धन गर्न राष्ट्रसंघको साथ चाहिएको छ।’

कोषका उपाध्यक्ष लामाले महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने बताए।

‘महासचिव आउनु नै हाम्रा लागि गौरवको विषय हो, गुटेरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’, उनले भने।

महासचिवलाई बुद्धजन्मस्थलमा भव्यताका साथ स्वागत गर्दै विश्वशान्तिको सन्देश दिने सक्ने गरी तयारी गरेको उपाध्यक्ष डा. लामाले बताए।
लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउँदै लामाले भ्रमणले लुम्बिनीको विकास र सम्बर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

‘प्रधानमन्त्रीज्यूको निमन्त्रणामा नेपाल आउनुभएका महासचिवको लुम्बिनी भ्रमण हाम्रा लागि मात्रै नभई नेपालकै लागि गौरव हो। उहाँले यहाँबाट विश्वशान्तिका लागि सन्देश पनि दिनुहुनेछ,’ उपाध्यक्ष डा. लामाले भने।

गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघसँगको सहकार्य थप मजबुत हुने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए।

उनले नेपालले राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको समयमा संयुक्त राष्ट्रसंघको पहलमा सुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहरूको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनःस्मरण गराइने बताए।

बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्वशान्ति सहरको परिकल्पनामा आधारित गुरुयोजनासमेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए।

महासचिवको भ्रमणलाई लिएर कोषले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको योजना प्रमुख सरोज भट्टराईले बताए। उनले सरसफाइ, स्वागत सत्कार र अन्य आवश्यक कामहरू तयारी अवस्थामा रहेको बताए। उनका अनुसार सबै सुरक्षाको प्रबन्ध नेपाली सेनाले गरेको छ।

कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’