
लुम्बिनी- सन् १९६७ अप्रिल २३ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्त नेपाल भ्रमणमा आउँदा उनी तीर्थयात्राको लागि लुम्बिनी आए र भने,’यो मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन हो।’ त्यसपछि, उनी रोए। ऊ थान्तले लुम्बिनीको अवस्थाबारे तत्कालीन राजा महेन्द्रलाई बताए र लुम्बिनीको विकासमा आफ्नो विशेष चासो रहने बताएका थिए।
उनले लुम्बिनी भ्रमण गरेपश्चात्को सन्देशमा भनिएको थियो,’लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो, जुन अन्य धर्मको पवित्र स्थानसरह समान आधारमा उभिएको छ।’

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ऊ थान्त र राजा महेन्द्र ।
उनले सन्देशमार्फत विश्व समुदायसँग लुम्बिनीको विकासका लागि अपिल गरेका थिए,’मैले सबैभन्दा योग्य ठानेको यो परियोजनाको कार्यान्वयन गर्न नगद, वस्तुगत रूपमा उदार योगदान गर्नुहुनेछ भन्ने आशा गरेको छु।’
बौद्धमार्गी ऊ थान्तले लुम्बिनीको दुरावस्था देखेर लुम्बिनीको विकासमा चासो दिए। उनकै अगुवाइमा सन् १९७०मा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भयो। सो समितिमा नेपाल, थाइल्यान्ड, श्रीलंका, भारत, भियतनाम, सिंगापुर, जापान, लाओस, पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया, म्यान्मार, कम्बोडिया, बंगलादेश र भुटान गरी १५ वटा राष्ट्र सदस्य छन्।
उक्त समितिले लुम्बिनीको योजनाबद्ध विकास गर्न त्यतिबेलाका विश्वविख्यात जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई गुरुयोजना बनाउन सन् १९७२ मा जिम्मा दिएको थियो।
टांगेले ६ वर्ष लगाएर गुरुयोजना बनाएका थिए। गुरुयोजना बनाउन १० लाख अमेरिकी डलर उक्त समितिमार्फत नै जापान एक्सपो फाउन्डेसन र यूएनडीपीले उपलब्ध गराएका थिए।
सन् १९८५ मा गुरुयोजना अनुरूप लुम्बिनीको योजनाबद्ध र व्यवस्थित ढंगले विकास गर्न १ हजार १ सय ५० बिघा जमिन अधिग्रहण गरी लुम्बिनी विकास कोषको गठन भएको थियो।
सन् २००५ मा राष्ट्र संघका लागि नेपालका तत्कालीन स्थायी प्रतिनिधि मधुरमण आचार्यको पालामा उक्त समितिको बैठक न्यूयोर्कमा बसेको थियो। त्यसयता समितिको बैठक बसेकै छैन। सो समिति अहिले निष्क्रीय छ।
राष्ट्रसंघको महासचिवका रुपमा लुम्बिनी आउने छैठौँ महासचिव हुन् गुटेरेस। सन् १९६७ मा ऊ थान्त, सन् १९८१ मा कर्ट वाल्डहिम, सन् १९८९ मा ह्याभियर पेरिज द कोयर र वान कि मुनले सन् २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए।
नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाउँदाताकाका महासचिव ड्याग ह्यामसोल्डले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको विकास कोषले जनाएको छ। यद्यपि उनी लुम्बिनी आउँदा उनी राष्ट्रसंघका महासचिव थिएनन्।
संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा थान्तको लुम्बिनी भ्रमणपछि नै लुम्बिनीको विश्वव्यापी प्रचार भएको थियो। सन् १९६७ मा राष्ट्रसंघका महासचिव थान्तले लुम्बिनी भ्रमण गरेपश्चात् आधुनिक लुम्बिनीको योजनाबद्ध विकास सुरु भएको हो।
उनकै प्रयासमा लुम्बिनी विकास योजनालाई संयुक्त राष्ट्रसंघको योजनाका रूपमा विकास गर्ने घोषणा भयो। थान्तले नै संयुक्त राष्ट्रसंघको पहलमा लुम्बिनीको योजनाबद्ध विकास गर्न रायसल्लाह दिन एलिहिन र मत्सुहितालाई लुम्बिनी पठाए। त्यसपछि लुम्बिनी अन्तर्राष्ट्रिय विकास समिति गठन भयो।

लुम्बिनी क्षेत्रको विकासका लागि प्रस्ताव प्रस्तुत गर्दै संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्त।
थान्तकै पहलमा प्रा. केन्जो टांगेले पेस गरेको गुरुयोजनाको अवधारणालाई संयुक्त राष्ट्रसंघले पारित गरेर कार्यान्वयनमा ल्याएको थियो।
राष्ट्रसंघकै महासचिवको अगुवाईमा विकासको बाटोमा अगाडि बढेको लुम्बिनीले महासचिव गुटेरेसबाट लुम्बिनी गुरुयोजना पूरा गर्न र विश्वव्यापी रुपमा प्रवर्द्धनको नयाँ उचाई हासिल गर्न पुन: अभिभावकीय भूमिकाको आशा र विश्वास गरेको छ।
गुटेरेसको भ्रमणले लुम्बिनी गुरुयोजना र लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि बनेको अन्तरराष्ट्रिय समिति सक्रिय बन्ने विश्वास लिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा बताउँछन्।
उनी भन्छन्,’समितिलाई सक्रिय बनाएर लुम्बिनीको विकास र प्रचारप्रसारमा सघाउ पुर्याउन महासचिव गुटेरेसलाई अनुरोध गरिनेछ, उहाँले जसरी चासो दिएर लुम्बिनी आउनुभएको छ, उहाँको भ्रमणले लुम्बिनीको विकासमा केही न केही लाभ हुने नै छ।’
झन्डै १५ वर्षपछि संयुक्त राष्ट्रसंघका महासचिवलाई लुम्बिनीले स्वागत गर्दै छ। यसले लुम्बिनीको प्रवर्द्धनमा नयाँ फड्को मार्ने लुम्बिनीका अध्येता डा गितु गिरी बताउँछन्।
‘लुम्बिनीको आधुनिक अवस्थाको विकासमा राष्ट्रसंघकै योगदान छ’, उनी भन्छन्,’आगामी समयमा लुम्बिनीको प्रवर्द्धनमा राष्ट्रसंघको भूमिका रह्यो भने लुम्बिनीले विश्वव्यापी चर्चा पाउनेछ र यसले पर्यटन प्रवर्द्धनमा पनि लाभ हुनेछ।’
गुटरेसको लुम्बिनी भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्र संघसँगको सहकार्य थप मजबुत हुने विश्वास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) व्यक्त गर्छन्।
उनी नेपालले ऊ थान्तको समयमा संयुक्त राष्ट्र संघको पहलमा शुरु भएको लुम्बिनी अन्तर्राष्ट्रिय सहयोग समितिमा संलग्न राष्ट्रहको बैठक वा सम्मेलनको आयोजनाका लागि समेत पुनस्मरण गराइने बताउँछन्।
‘महासचिव लुम्बिनी आउनु हामी सबैका लागि गौरवको विषय हो । यस सन्दर्भमा हामीले हाम्रो तर्फबाट भएका कमजोरीको समीक्षा गर्दै संयुक्त राष्ट्रसंघको लुम्बिनीप्रतिको अटुट लगावलाई अझ बढी जगाउन सक्नुपर्छ’, उनी भन्छन्।
लुम्बिनीमा विशिष्ट व्यक्तिहरुको भ्रमणले पर्यटन प्रवर्द्धनमा समेत लाभ मिल्ने लुम्बिनीका पर्यटन व्यवसायी बताउँछन्। लुम्बिनी होटल एशोशिएसनका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्,’लुम्बिनीमा भीभीआइपीहरुको भ्रमणले यस क्षेत्रलाई चलायमान बनाउँछ, यो लुम्बिनीका लागि एकदमै राम्रो कुरा हो, यसले यहाँ पर्यटक ल्याउनका लागि मदत पुग्छ।’
उनी लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले भारतीय पर्यटकको संख्या वृद्धि भएको र लुम्बिनीमा आशा थपिएको बताउँछन्।
लुम्बिनीमा कोभिड महामारीअघिको तथ्यांकअनुसार स्वदेशी र विदेशी गरी झन्डै १६ लाख पर्यटकले वार्षिक भ्रमण गरेको तथ्यांक छ। यो संख्या बढाएर २५ लाख पुर्याउने लक्ष्य छ।
तर, लुम्बिनीको प्रवर्द्धनका लागि सरकारी तवरबाट जति पहल हुनुपर्ने हो, त्यसअनुसार भएको छैन। लुम्बिनीलाई केन्द्रमा राखेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि लुम्बिनीकेन्द्रित अन्तर्राष्ट्रिय उडान आकर्षित भएका छैनन्।
लुम्बिनीमा पर्यटक ल्याउन भनेर बनाइएको विमानस्थलको उपयोगिता अझै पुष्टि हुन सकिरहेको छैन भन्छन्, यस क्षेत्रका व्यवसायीहरू।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उज्ज्वल कसजू लुम्बिनीमा पर्यटक ल्याउनकै लागि भनेर बनाइएको विमानस्थलको खास उपयोगिता नदेखिएकोमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताउँछन्। ‘विमानस्थल सञ्चालन हुने र विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा थियो, त्यसअनुसार निजी क्षेत्रको लगानी बढ्यो, तारे होटलहरू खुलिरहेका छन्’ उनी भन्छन्,’तर सरकारी स्तरबाट भनिएअनुसार काम हुन सकेन, मन्दीले त्यस्तै असर गरेको छ, यसमा सरकारले विशेष चासो दिन जरूरी छ।’
तामझामका साथ राष्ट्र संघका महासचिवको स्वागत र चर्चा गरिएपनि लुम्बिनी गुरुयोजना पूरा गर्न र अन्तरराष्ट्रिय समिति सक्रिय बनाउनका लागि उनको भ्रमण कति फलदायी हुनेछ, त्यो भने हेर्न बाँकी नै छ।