
काठमाडौं- सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न खुम्बु पासाङल्हामु गाउँपालिकाले सोलुखुम्बु पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेको छ ।
शनिबार त्यस क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहाललाई गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले ज्ञापनपत्र बुझाउँदै सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेका हुन् ।
हवाई यातायातको भर पर्नु परेकोले सगरमाथा क्षेत्र जोड्ने सो सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी बजेट विनियोजन गर्न गाउँपालिका अध्यक्ष शेर्पाले आग्रह गरेका हुन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटेरसले हालै गरेको खुम्बु क्षेत्रको भ्रमणमा तापक्रम बढ्ने, हिमताल पग्लने र त्यसले जनतालाई पुर्याउने हानी नोक्सानीको कुरालाई गम्भीरतापूर्वक लिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।