
काठमाडौँ- महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने भएको छ ।
सोमबार महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मी स्थान, महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत कार्यको लागि महालक्ष्मी स्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
महालक्ष्मी स्थान व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदान प्रदान गरेका थिए।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको बैंकले जानकारी दिएको छ । बैंकले २०७७ साल देखि बगैँचाको पुनर्निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ ।
बैंकले इच्छुक दर्शनार्थीहरूलाई मन्दिरमा डिजिटल दानभेटी प्रदान गर्न सहजता पुर्याउने हेतुले क्युआर कोडको व्यवस्था समेत गरेको छ ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।