
काठमाडौँ– नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिक उत्सव मनाएको छ।
शनिबार उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिक उत्सव मनाएको हो ।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट सहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।
दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भएको नबिल बैंकले जनाएको छ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रवर्द्धनमा बैंकको भूमिका थप बढेको बताए। ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवर्द्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’ अध्यक्ष पौड्यालले भने। उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले सामाजिक उद्यमीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए। उनले यस कार्यक्रममा सहभागी हुने नबिल बैंकका कर्मचारी, विज्ञहरू, साझेदार, तथा विद्यालय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए ।
नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।
नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् ।
यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वर्ल्डकप जित्न सफल भएका छन् ।