
काठमाडौँ– नवलपरासी (पूर्व नवलपुरमा) खेतान ग्रुपको २ अर्ब लगानीमा विदेशी ब्राण्ड रेड बुलको उत्पादन सुरु गरिएको छ ।
एक कार्यक्रमका बिच मंसिर १९ गते वलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर–१७ स्थित अमरापुरीमा १० विगाह क्षेत्रफल जग्गामा उक्त उद्योग स्थापना गरिएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा रेड बुलको मुख्य उत्पादक टिसिपिका प्रमुख कार्यकारी अधिकृत सरवूत युविध्या, सरस वेभरेजका प्रमुख कार्यकारी अधिकृत पवन जगतिया, खेतान ग्रुपका प्रेम प्रसाद खेतान लगायत उपस्थित भएका थिए ।
सरकारले रेड बुल आयात प्रतिबन्ध गरेको ४ वर्षपछि नेपालमा नै उत्पादन गर्नेगरी उद्योग स्थापना गरिएको हो । सरकारले २०७६ असार २ गतेदेखि रेड बुलसहितका इनर्जी ड्रिङ्स आयातमा प्रतिबन्ध लगाएको थियो । यसअघि रेड बुलको नेपालका लागि सप्लायर्सको काम गरिरहेको खेतान ग्रुपले उद्योग स्थापनाको लागि सरकारबाट अनुमति लिएर उद्योग स्थापना गरेको हो ।
सुरुवाती चरणमा ३००० केस रेड बुल थालेको उद्योगले छिट्टै नै उत्पादन क्षमतालाई बढाएर दैनिक १५ हजार केश रेडबुल उत्पादन गर्ने तयारी गरेको छ ।
हाल नेपालमा मात्रै बिक्री गर्ने गरी उत्पादन सुरु गरेको उद्योगले सिफ्ट पूर्ण क्षमतामा उत्पादन गर्दा वार्षिक ४५ लाख केश रेड बुल उत्पादन गर्ने उद्योग संचालको भनाई छ । उद्योगमा हाल ६० कर्मचारी राखेर काम सुरु गरेको उद्योगले पूर्ण क्षमतामा सञ्चालन गर्दा १०० जना कर्मचारी आवश्यक हुने उद्योगले जनाएको छ ।