नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन्। आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा ओलीले बैंकले निर्मम साहु,मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताए।
000
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन्। गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनी आइतबार डिस्चार्ज भएका हुन्। गृहमन्त्री श्रेष्ठको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै गृह मन्त्रालयलले जनाएको छ।
000
मकवानपुरमा एक करोड रुपैँया फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका– ९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्। तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौंडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए।
000
दक्षिण अफ्रिका पठाइदिन्छु भनेर १७ लाख रुपैँया ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौँ गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई पक्रेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। यस्तै अमेरिका पठाइदिन्छु भन्दै ८ लाख लुट्ने अभिषेक श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
000
नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बरामद सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिक चेन झिउइलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
000
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ। आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ।
000
सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षकै वकिलहरुले नै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमानै रहेको थियो। तर सन्दीपका कानुन ब्यबसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो तर्फबाट बहस गर्ने वकिलहरु नभएका कारण मुद्दा हटाएको बताएका हुन्।
000
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सांसद अमरेशकुमार सिंहले गरेको दाबी निराधार भएको दाबी गरेको छ। सांसद सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री दाहालकी छोरीसमेत रहेकी गंगाले व्यापारीहरुसँग पैसा उठाएको र उपयुक्त समयमा त्यो सार्वजनिक गर्ने बताएका थिए।
000
काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको आइतबार आपतकालीन झ्यालको सिसा खसेको छ। काठमाडौँबाट लुक्लातर्फ उडेको जहाज अवतरण भइसक्दा आपतकालीन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। यद्यपि विमान सहज तरिकाले अवतरण भएको थियो।
र
एसिसी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपाल ७३ रनको फराकिलो अन्तरले अफगानिस्तानसँग पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदै १ सय ८८ रनमा समेटियो। हारसँगै नेपाल प्रतियोगिताबाट लगभग बाहिरिएको छ।
ooo