
काठमाडाैँ – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आउन सुरु भएको छ। व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका हुन्।
भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो। भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए।
उनले भने, ‘चीनबाट स्याउ ल्याउने साथीहरुको उता राम्रै चिनजान रहेछ। उहाँहरुको चिनजानमा १०० टन ल्याएको भन्ने खबर छ। तर नेपालको मार्केटमा आइपुगेको छैन। आयो भने उताबाट सस्तोमा आउने र यता पनि सस्तोमा ग्राहकले पाउने उनले बताएका छन्। तर एकीन रेट भने मार्केटमा आइपुगेपछि मात्रै थाहा हुनेछ।’
चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको गजुरेलले बताए। गजुरेलले चीनतर्फबाट लसुन आयात गर्ने व्यवसायीहरुले प्याज पनि ल्याउन सम्भव भएपछि आयात प्रक्रिया सुरु गरिएको बताए। चीनबाट प्याजको आयात सुरु हुने बित्तिकै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको भनाइ छ।
बल्खु तरकारी बजारका आलु प्याज व्यापारी धिरेन्द्र मुखिया भन्छन्,’प्याज अब चीनबाट आउने कुरा छ। आयो भने प्याजको मूल्य अलि कम हुनेछ।’
चाइनाबाट प्याज आएपछि १ किलो प्याजको मूल्य ८० देखि ९० रुपयाँसम्म हुने उनले बताए। उनले भने,‘प्याज चाइनाबाट आउँछ मूल्य कम पनि हुन्छ। हामीलाई पनि व्यापार गर्न सहज हुन्छ र सबैको भान्सामा प्याज पुग्छ।’
भारतको प्रतिबन्धपछि बजारमा प्याजको हाहाकार भएर मूल्य दोब्बर भएको थियो। यसअघि प्रतिकिलो १०० रुपैयाँ खुद्रामा पाइने प्याजको मूल्य बढेर २ सय रुपैयाँ पुगेको थियो।
अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४० रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ। उक्त प्याजको खुद्रा बजार मूल्य १७० रुपैयाँ पुगेको छ।