
झापा- झापामा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चारजना पशुपंक्षीसम्बन्धी र दुईजना लागूऔषध मुद्दाका अभियुक्तहरू रहेका छन्।
पशुपंक्षीसम्बन्धी कसुर मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सुवास दर्जी, सोही ठाउँका ३२ वर्षीय सुनिल भन्ने दिलिप विश्वकर्मा, ३५ वर्षीय धने भन्ने धनबहादुर तोलाङ्गे र ३१ वर्षीय टार्जन भन्ने पूर्णबहादुर सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई झापा जिल्ला अदालतको गत असार २८ गतेको फैसला अनुसार जनही १ बर्ष कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो।
त्यस्तै, लागुऔषध मुद्धामा सजाय तोकी फरार रहेका ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ घर भई हाल दमक नगरपालिका वडा नं.१ बस्ने २३ वर्षीय कमल घिमिरे र सोही ठेगाना भएकी २० वर्षीया रेणुका घिमिरेलाई प्रहरीले आइतवार पक्राउ गरेको छ।
उनीहरूलाई झापा जिल्ला अदालतको मंसिर १८ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा जनही १० महिना कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो।
पक्राउ परेका ६ जनालाई नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।