
झापा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पहाडबाट तराईतिरको बसाइँसराई नरोके देशमा जटिल परिस्थिति निम्तिने बताएका छन्।
नेकपा एमालेको समृद्धि यात्राको समापनपछि काठमाडौँ जाने क्रममा झापाको बिर्तामोडमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पहाडमा भौतिक सुविधा पुगे पनि सर्वसाधारणको बसाइँसराई झन् बढेकाले त्यसलाई नरोके जटिल परिस्थिति निम्तिने सम्भावना औंल्याए।
त्यसको अध्ययनका लागि पनि एमालेले मध्यपहाडको यात्रा तय गरेको उनको भनाइ थियो। उनले भने, ‘यस्तै बसाइँसराईको परिस्थिति रहे जुनसुकै परिस्थिति निम्तिन सक्छ। त्यसैले सबै राजनीतिक दल यसबारेमा सजग हुन जरूरी छ।’
यात्राका क्रममा मध्यपहाडको विकास र त्यहाँका मानिसहरूको विचार आफूहरूले राम्रोसँग बुझेको नेता पोखरेलले बताए। मध्यपहाडका जनताले कृषि उत्पादनको बजारीकरण, कृषिमा अनुदान तथा रोजगारीका अवसर मुख्य माग राखेको उनले बताए।
पोखरेलले भने,’मध्यपहाडमा सडक पुगेको छ। अन्य भौतिक सुविधा पुगेका छन्। तर मानिसहरूमा वितृष्णा छ। त्यही वितृष्णा चिर्न अब ढिलो गर्नु हुँदैन।’
अर्को एक प्रसंगमा उनले कोशी प्रदेश नामकरणविरुद्धमा गरिएको आन्दोलन एमालेलक्षित भएकोमा आश्चर्य प्रकट गरे। उनले प्रदेश सभाको विधिबाट निस्किएको नामकरणको मुद्दा प्रदेश सभामै पुगेर सुल्झिनु पर्ने बताए। विधि र पद्धतिविपरीत एमालेले कुनै पनि काम नगर्ने उनले बताए।