
झापा – प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले राज्यले महिला, दलित तथा आदिवासी समुदायको हक सुनिश्चित गर्न नसकेको बताएकी छन् ।
लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दलित तथा आदिवासी समुदाय लक्षित कोशी प्रदेश स्तरीय तालिमको उद्घाटन गर्दै सांसद विश्वकर्माले लक्षित समुदायको राज्यका अंगहरूमा संवैधानिक सहभागिता गराउन राजनीतिक दलहरू अझै सकारात्मक नरहेको बताइन् ।
उनले भनिन्, ‘संस्थाहरूले यत्रो धेरै लगानी गरेका छन् । तर, राजनीतिक दलहरू अझै पनि संविधानले दिएको हक सुनिश्चित गर्न सकारात्मक छैनन् ।’
राजनीतिक दलहरूलाई नागरिकस्तरबाट दबाब बढाउनुपर्ने उनको भनाइ थियो । विभिन्न चरणमा भएका आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न राजनीतिक दलहरूले आनाकानी गरेको उनको भनाइ थियो ।
सांसद विश्वकर्माले भनिन्, ‘विभिन्न चरणका आन्दोलनमा गैर सरकारी संस्थाहरूले भूमिका सकारात्मक रहे पनि अहिले आएर ती संस्थाहरूको सक्रियता कम भएको हो कि भन्ने अनुभूति भएको छ ।’
गैर सरकारी संस्थाहरूको काम कारबाहीका कारण पनि राज्यले अहिले ती संस्थाहरूप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनले बताइन् । ती संस्थाहरूले पनि आफ्ना काम सच्याउनुपर्ने उनको भनाइ थियो ।
लिडरसीप एकेडेमी नेपालले कोशी प्रदेशका १२ जिल्लाका प्रतिनिधिलाई बिहीबार र शुक्रबार झापाको बिर्तामोडमा तालिक दिइरहेको छ ।
यस अघि उक्त संस्थाले पाँच अन्य प्रदेशमा तालिम दिइसकेको जनाएको छ । यस चरणको अन्तिम तालिम मधेस प्रदेशमा हुने लिडरसीप एकेडेमी नेपालले जनाएको छ ।