
काठमाडाैँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन गर्ने नियमावली जारी गर्ने तयारी भइरहेको बताएकी छन्।
शुक्रबार नेपाल विज्ञापन संघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएता पनि अश्लिल र छाडापन हुने सामाजिक सञ्जाललाई नियमन गर्ने नियमावली तुरुन्तै जारी गर्ने तयारी भइरहेको बताएकी हुन्।
मन्त्री शर्माले सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति कुनै पूर्वाग्रह नराखेको र संघबाट राखेका सुझाव सल्लाहहरुलाई सुधार गर्न सबैबाट पहल हुनुपर्ने बताइन्।
मन्त्री शर्माले सरकारले विज्ञापन नियमावली ल्याएर एजेन्सीको पहिचान गराएको र संघका सुझावहरुलाई सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने बताइन्।
उनले विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापनदाताको बीचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले सहकार्य समन्वयमा काम गर्नुपर्ने र अन्यथा अब बन्ने नियमावलीले त्यसलाई बाँधी कारबाहीको दायरामा ल्याउने बताइन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले संघका मागहरु र विज्ञापन बजार बढाउने विषयमा सकारात्मक रहेको बताए।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले संघबाट बोर्डका हरेक कदममा अत्यन्त सहयोग र सहकार्य भएको विषयमा जोड दिए। मिडिया एलायन्सका अध्यक्ष भाष्कर राज राजकर्णिकारले सरकारबाट आमसञ्चार क्षेत्रको सरक्षण तथा विकासका लागि अनियन्त्रित युट्युब तथा सामाजिक सन्जालमा विज्ञापनमा रोक लगाउनुपर्ने विषयमा जोड दिए।