
काठमाडौँ – अजरबैजान पठाइदिन्छु भनेर करिब ७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ६ घर भई हाल काठमाण्डौँकाे बुढानीलकण्ठ बस्ने हरी कुमार दाहालले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान भन्दै ६ लाख ७७ हजार लाख ठगी गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।
दाहालले खेम बहादुरलाई अजरबैजान पुगेपछि होटलमा काम लगाइदिन्छु भनि मासिक ७५ हजार तलब हुन्छ भनेर विश्वास दिलाइ प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।
उनले पटक–पटक गरी ६ लाख ७७ हजार लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।
दाहाललाई काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।