राष्ट्रिय सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसको शेखर कोइराला समूहले ४ सिट पाउनुपर्ने अडान राखेको छ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको रस्साकस्सी चलिरहँदा कांग्रेस संस्थापन इतर समूहले पार्टी नेतृत्वसँग ४ सिट दाबी गरेको हो।
000
म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन। ढुङ्गा प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घाइते हुनेमा मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली छन। हत्यामा संलग्न व्यक्तिको पहिचान भइरहेको प्रहरीको भनाई छ।
000
सर्लाहीको बरहथवामा एक जनाको मृत्यु हुने गरी भएको घटना छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ। गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा भएको समिति गठनको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी छन। यस्तै, सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन। शनिबार पाल्पामा भएको सभालाई सम्बोधन गर्दै लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताएका हुन।
000
किराँत समुदायले काठमाडौँको टुँडिखेलमा परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाइ ढोल बजाएर साकेला नाच्दै उधौली पर्व मनाएका छन्। किराँत समुदायले बाली भित्राइसकेपछि नयाँ अन्न प्रयोग गर्नुपूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गर्छन्। उधौलीलाई चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको रुपमा मनाइन्छ।
000
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफै योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उनले नेपालजस्तो स्वतन्त्र मुलुकले अरु कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याएर परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको दाबी गरे।
000
सर्वोच्च अदालतले सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ। अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो। अरुण तेस्रो प्रवेश मार्ग छ्याङ्कुटी–पुखुवाको जग्गाको मुआब्जा नपाएका जग्गाधनीले वर्षौंदेखि मुआब्जा रकमको माग गर्दै आन्दोलन गर्दै आएका थिए।
000
कञ्चनपुरमा शनिबारदेखि जलपन्छी गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा भएको जलपन्छी गणना शनिबारदेखि माघ ७ गतेसम्म जारी रहने छ। सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ। नेपालमा सन १९८७ देखि नियमित रुपमा जलपन्छी गणना हुँदै आएको छ।
000
पूर्वराष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन। काठमाडौंमा शनिवार एक पुस्तकको लोकार्पण गर्दै यादवले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए। उनले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए।
000
र, पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ। संघीय राजधानी काठमाडौंसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ।