
झापा- घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ।
मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोलस्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा मलेसिया गएका थिए।
उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेसिया गएको थियो। गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो। त्यहाँदेखि छोरो सम्पर्कमा छैन। गएको २० वर्ष भइसक्यो। छोरो अहिले ४२ वर्षको भयो। कहाँ छ, के गर्दै छ? अहिलेसम्म केही थाहा पत्तो लागेको छैन।’
सुकमायाका ३ छोरा र २ छोरी छन्। विनोद घरको जेठा छोरा हुन्। माइला भीम घरमा आमा-बुबासँगै छन् भने कान्छा छोरा टेकबहादुर कमाउन विदेश जाने तयारीमा काठमाडौंमा भौतारिएका छन्। दुईजना छोरी रुमा र लीलाको बिहे भइसकेको छ।
उनका ७१ वर्षीय श्रीमान वीरबहादुर घरैमा छन्। उनी धामीको रूपमा झारफुक गर्छन्। वीरबहादुरका अनुसार गएको ४ वर्षपछि म बिरामी भएको बेला छोरासँग अन्तिम पटक कुराकानी भएदेखि अहिलेसम्म सम्पर्कमा आएको छैन।
घरको अवस्था देखेर कमाउन गएको छोरो अहिलेसम्म फर्केर नआएपछि आफूहरू चिन्तामा रहेको वीरबहादुरले सुनाए। उनी भन्छन्- ‘विभिन्न सपना बोकेर कमाउन विदेश गएको छोरोले न पैसा पठायो, न मान्छे नै आइपुग्यो। पैसा नपठाए पनि छोरो सकुशल घर आइदिए हुन्थ्यो।’
सुकमायाले त्यतिखेर ९० हजार ऋण खोजेर छोरालाई आफ्नै भाइ नरबहादुरमार्फत स्थानीय विकास सुब्बा (डोले) ले काठमाडौंको एक मेनपावरबाट मलेसिया पठाएको बताइन्।
छोराले ९० हजार ऋण तिरेर श्रीमान बिरामी हुँदा थप २० हजारसहित एकलाख रुपैयाँ पनि पठाएको सुकमायाको भनाइ छ। त्यसपछि भने छाेरा सम्पर्कमा आएका छैनन्।
सुकमायाले छोरा जहाँ, जस्तो अवस्थामा भएपनि खोजी गरिदिन सबैलाई आग्रह गरेकी छन्।
८/९ वर्षअघि स्थानीय हरिचन्द्र राउत मलेसिया गएका थिए। राउतलाई त्यसबेला विनोदले मलेसियाको पेनाङस्थित बल्क्षी कम्पनीमा काम गरिरहेको बताएका थिए। हरिचन्द्र र विनोदको रुम नजिक रहेको थियो। उनीहरूले रासन खाने ठाउँ एउटै थियो। विनोदसँग त्यहीं भेट भएको हरिचन्द्रले बताएका थिए।
हरिचन्द्रका अनुसार विनोदसँग भेट हुँदा घरजान मन थियो भनेका थिए। तर, एक वर्ष म्याद थपेकोले जान नपाइने भयो भनेर कुरा गरेको हरिचन्द्रले बताएका थिए। हरिचन्द्र घर आए तर विनोद अहिलेसम्म घर आएका छैनन्।
विनोदका परिवारले ५ वर्षअघि डोलेसँग कुन मेनपावरबाट छोरालाई पठाएको हो खोजी गरिदिन आग्रह गरेका थिए। डोलेले मेनपावर बिर्सिसकेकाे जवाफ दिएको सुकमायाको गुनासो छ।