
काठमाडौँ – केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न नसकिरहेका बेला बल्लतल्ल बसेको नेपाली कांग्रेसको संसदीय बोर्ड बैठकमा पनि सभापति शेरबहादुर देउवाले शेखर कोइराला समूहलाई राष्ट्रिय सभा निर्वाचनमा २ वा ३ सिट मात्र दिने बताएपछि कोइराला बैठकबाट बाहिरिएका छन् ।
आइतबार साँझ बसेको बोर्ड बैठकमा देउवा तथा शेखर समूहबीच सिट बाँडफाँडमा कुरा मिलेन । शेखर समूहले कम्तीमा ४ सिट मागेको कांग्रेसनिकट स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनको भागबन्डामा नेपाली कांग्रेसले १० सिट पाएको छ । कांग्रेसमा समूहगत सिट बाँडफाँडमा कुरा नमिलेपछि अहिले भाँडभैलो मच्चिएको हो ।
२ सिट मात्रै पाउने भएपछि शेखर गगन समूहका नेताले पाटीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक छाडेर शेखर गगन समूहले दिउँसो छुट्टै छलफल गरेका थिए भने पार्टी सभापति देउवा पनि आफ्ना टिमका पार्टी पदाधिकारी र शीर्ष नेताहरुलाई डाकेर आफ्नै निवास धुम्वाराहीमा बैठक चलाएका थिए।
संसदीय बोर्डको बैठकमा कुरा मिलेपछि मात्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तयारी छ। तर संसदीय बोर्ड बैठक नसकिँदै नेता शेखर कोइराला बाहिरिएका हुन् ।