
काठमाडौँ- पोर्चुगल पठाइदिन्छु भनेर झण्डै ११ लाख रुपैँया ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
धनकुटाको चौबिस गाउँपालिका ६ घर भई हाल काठमाडौँको किर्तिपुर ट्याङलाफाँट बस्ने उर्मिला चेमजोङले संगत थापा समेत २जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भनी १० लाख ५० हजार रुपैँया ठगी गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।
चेमजोङले संगत समेत २ जनालाई पोर्चुगल जान प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ,पुगेपछि प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भनी,१ लाख तलब भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ।
चेमजोङले संगतबाट पटक–पटक गरी १० लाख ५० हजार रुपैँया लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।
उनलाई काठमाडौँको किर्तिपुर १० ट्याङलाफाँट बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।