
झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू भारतमा रहेको खाटुश्याम मन्दिर गएर आएपछि मुख्यमन्त्री बनेको बताएका छन्।
झापा बिर्तामोडको अग्रसेन भवनमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सच्चा मन लिएर खाटुश्याम बाबाको दर्शन गरे चिताएको प्राप्त हुने मुख्यमन्त्री कार्कीले बताए।
बाबाको दिव्य शिश एवं अखण्ड ज्योत स्वागत यात्रा विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आफू पनि भारतमा अवस्थित खाटुधाम गएको र त्यहाँबाट फर्केपछि मुख्यमन्त्री पद प्राप्त भएको बताएका हुन्।
उनले भने, ‘म पनि गत साल खाटुश्याम मन्दिर गएको थिएँ। त्यहाँबाट फर्केको केही समयमा मुख्यमन्त्री भएँ।’
मुख्यमन्त्री कार्कीले व्यवसायबिना सरकारलाई कर प्राप्त नहुने र सरकारबिना व्यवसाय सञ्चालन हुन नसक्ने बताए।
कोशी प्रदेशबाटै सरकार र व्यवसाय एक आपसका परिपूरक भएको आभास हुने गरि काम भइरहेको उनले बताए।
उनले भने, ‘सरकारबिना व्यवसाय चल्दैन। व्यवसायबिना सरकार चल्ने कर प्राप्त हुँदैन। त्यसैले कोशी प्रदेशबाटै व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन ल्याउने काम हामी गर्दैछौँ।’
बाबाको दिव्य शिश एवं अखण्ड ज्योत स्वागत यात्रामा सहभागीहरूलाई उनले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाइ गरे। उक्त यात्रामा सहभागीहरू खाटुधाम पुगेर बिर्तामोड आइपुग्ने छन्।