
काठमाडाैँ- बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले अर्थतन्त्रको मेरुदण्ड नै बैँकिङ क्षेत्र भए पनि यसको योगदान आमसमुदायबीच बुझाउन नसकेको बताएका छन्। उनले आमसमुदायबीच यस क्षेत्रको योगदान बुझाउन आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने पनि बताए।
उनले बैँकिङ क्षेत्रजति मर्यादित र अनुशासित क्षेत्र अन्य नभएको तर बैंकिङ क्षेत्रको योगदान नबुझेर सबैले यो क्षेत्रलाई गाली गर्ने गरेको पनि पीडा पोखे।
आफ्नो कार्यकालमा बैँकिङ क्षेत्रको योगदान बुझाउन जे गर्नुपर्ने हो, त्यो तत्कालै सुरु गर्ने पनि बताए।
उनले आफ्नो अनुभव यस क्षेत्रमा लामो रहेको बताउँदै अनुसन्धानका आधारमा काम गरेर बैँकिङ क्षेत्रको योगदान बाहिर प्रस्तुत गर्ने दाबीसमेत गरे। पौडेल नबिल बैँकका अध्यक्षसमेत हुन्।
सिविफिनको अध्यक्ष बन्न कुनै बैँकिङ संस्थाको अध्यक्ष हुनुपर्छ।
उनले बैँकिङ क्षेत्रका समस्या पहिचान गरी यसको समाधानका लागि सरकार, राष्ट्र बैङ्क र स्टेकहोल्डरहरुले कस्तोकस्तो भूमिका खेल्नुपर्छ, यसबारे उजागर गर्दे जाने पनि बताए।
सिविफिनका पूर्वअध्यक्ष पवन गोल्यानले पदबाट राजीनामा दिएपछि परिसंघको कार्यसमिति बैठकले सिविफिनको कार्यसमिति सदस्यसमेत रहेका पौडेललाई बिहीबार सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो।
सरकारले अर्थतन्त्रलाई लयमा ल्याउन खोजेको उनको भनाइ छ। ‘अर्थतन्त्र र बैंकिङ क्षेत्रलाई लयमा ल्याउन हामी पनि भूमिका खेल्नेछौँ,’ उनले देशसञ्चारसँग भने।
उनले यस संस्थामा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थालाई समेटेको बताए।
करिब ४ दशकको बैंकिङ अनुभव बोकेका पौडेल नेपाल बैंकर संघका पूर्वअध्यक्ष, नेपाल व्यवस्थापन संघका अध्यक्ष समेत छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
बैंक तथा वित्तीय संस्था परिसंघ २०७६ सालमा स्थापना भएको हो।