
झापा – पुस २९ गते आइतबार सातौं राष्ट्रिय भाक्का दिवस धुमधामका साथ मनाइएको छ।
पूर्वी तराईमा लोकप्रिय खाने परिकारको रुपमा रहेको भाक्कालाई दिवसकै रुपमा मनाउन थालिएको सात वर्ष पुगेको छ।
राजवंशी समाज विकास समितिको केन्द्रीय समितिले आयोजन गरेको भाक्का दिवसमा हजारौं सर्वसाधारणको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष अभय राजवंशीले जानकारी दिए।
उनका अनुसार १५० जनाले भाक्का पकाएका छन्। सहभागीहरुलाई २ हजार केजी चामलको पिठोबाट भाक्का बनाइ निःशुल्क रुपमा खुवाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समितिका केन्द्रीय अध्यक्ष राजवंशीले अहिले तीनवटा पालिकाले स्थानीय बिदा दिए पनि आउने सालमा सबै पालिकाले स्थानीय विदा दिने अपेक्षा आफूले राखेको बताए।
सोही दिवसमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष साह पनि उपस्थित थिए। भाक्काबारे सिक्नका लागि भाक्का दिवसमा सहभागी हुन झापा आएको उनले बताए।
साहले भने, ‘म पनि यहाँ केही सिक्नका लागि यहाँ आएको हुँ। मज्जासँग भाक्का खाइयो।’
भाक्काको स्वाद लिएपछि उनले भाक्का स्वास्थ्यवर्धक खानेकुरा भएको प्रतिक्रिया दिए। खासगरि जाडो महिनामा तातो भाक्का उपयुक्त हुने उनले बताए।
साहले भने, ‘यो यस्तो चीज रहेछ कि किटाणु पनि बस्न नपाउने खानेकुरा रहेछ। यो त एक सय डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दुई मिनेटभन्दा बढी राख्नुपर्ने भएकाले किटाणु रहने त सम्भावना नै हुँदैन।’
उनले यस्ता मौलिक खानेकुराको जगेर्ना सबैले गर्नुपर्ने बताए।