
काठमाडाैँ – बुटवल पावर कम्पनीले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
हालै सम्पन्न भएको कम्पनीको ३१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीको प्रतिशेयर रु १०० दरका १ करोड कित्ता शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पूँजी रु. ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६सयलाई वृद्धि गरी रु. ४ अर्व ४० करोड ९० लाख ६४ हजार ६ सय पुर्याउने विशेष प्रस्तावसमेत पारित गरेको जानकारी दिएको छ।
कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भइरहेका छन्। साथै सहायक तथा सम्बद्ध कम्पनीहरुमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ ।
खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत प्राधिकरणमा गएको छ।