
काठमाडौँ–दूध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो हुन्छ। खाने मसलाको धुलोमा पनि मरिच मिसाइएको हुन्छ।
मरिच स्वादका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि फाइदाजनक छ। चिसो मौसममा मरिच खानु झनै गुणकारी हुन्छ।
चिसोले टाउको दुखेमा वा टाउकोको आधा भाग दुखेमा, रुघाखोकी लागेमा, पिनास भएमा, कफ र खोकी लाग्ने समस्या भएमा, हिक्क आउने समस्या भएमा, फियो बढेमा, जाडोले कामज्वरो आएमा मरिचको प्रयोग प्रभावकारी हुन्छ।
मरिचले स्वास्थ्यलाई फाइदा गर्ने भए पनि अहिले नेपाली बजारमा मरिचको अभाव छ। सरकारले औद्योगिक प्रयोजनका लागि मरिच आयात गर्न दिने निर्णय गरेको छ। यसको नाममा वार्षिक हजारौँ टन मरिच नेपालमा आउँछ तर बजारमा पर्याप्त मरिच पाइँदैन।
यस्तो अवस्थामा मरिच मुलुकमै उत्पादन गरेर बाह्य बजारमा समेत पठाउने गरी बजार विस्तार गर्नेतर्फ सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने व्यवसायी तथा उपभोक्ताहरु बताउँछन्।
हाल मुलुकबाट भटमासको तेल,अलैंची, पोलिस्टर धागो, ऊनी गलैंचा र जुटलगायत अन्य वस्तुहरु अन्य देशतर्फ निर्यात हुँदै आएका छन्। तर नेपालमा मरिच उत्पादन प्राथमिकतामा पर्न नसकेको विज्ञहरु बताउँछन्।
नेपाल कृषि अनुसन्धान परिषदका प्रवक्ता डा. लुमानिधि पाण्डेले मसलाजन्य समूहमा अदुवा र अलैँची प्राथमिकतामा परेको तर मरिच पर्न नसकेको बताए। उनले भने, ‘अलैँची बाहिर धेरै निर्यात हुने भएकाले प्राथामिकतामा परेको छ। मरिच निर्यात गर्न भन्दा अलैची राम्रो निर्यात हुन्छ। हामीसँग सीमित जनशक्ति, साधन स्रोत र अनुसन्धानको लागि खर्च पनि नभएकाले, त्यसको लागि उपयुक्त ठाउँ पनि नतोकिएको हुनाले मरिच उत्पादनको सुरुवात नगरेका हौँ।’
पहिला प्रदेशबाट,राष्ट्रिय तहका गोष्ठीहरुमा आएकालाई प्राथमिकीकरण गरेर अनुसन्धान गर्ने हुँदा मरिच प्राथमिकतामा नपरेको उनको भनाइ छ।
तर, नेपालमै सानो परिणाममा मरिच उत्पादन गर्ने सीमित किसानहरु नभएका होइनन्।
लमजुङको सुन्दरबजार नगरपालिकामा मरिच उत्पादन गरिरहेका रामबहादुर केसीले नेपालको सबै ठाउँमा मरिच उत्पादन हुने भए पनि सरकार तथा किसानको प्राथमिकतामा नपरेको बताए।
उनले भने, ‘वार्षिक २/३ पाथी मरिच उत्पादन हुन्छ। व्यवसायिक रुपमा मैले खेती गर्दिन। सबै आफ्नो लागि हो।’
उनको बुबा कृषिविज्ञ भएकाले उनैले मरिचको बिरुवा रोपेर उत्पादन सुरु गरेको केसीले बताए। उनले खिर्रो, चाप र सिउँडीको बोटमा मरिच राम्रो फल्ने बताए। सबैभन्दा राम्रो मरिच सिउँडीको बोटमा फल्ने तर टिप्न भने गाह्रो हुने उनको भनाइ छ। जुन बोटबाट दूध वा चोप निस्कन्छ, त्यसैमा मरिच राम्रो फल्ने उनले बताए।
‘हिमाल, पहाड र तराई सबै ठाउँमा उत्पादन हुन्छ, हुन त हिमालमा पनि हुन्छ तर हिमालमा चिसो हुने भएकाले कम मात्रामा उत्पादन हुन्छ। मध्य पहाडमा वा गर्मी हुने ठाउँमा अझ धेरै उत्पादन हुन्छ।’
उनले चापको बोटमा २० वर्षदेखि मरिच उत्पादन गर्दै आएका छन्। उनले भने, ‘जुन बोटबाट पिरो दुध निस्कन्छ, त्यही बोटमा मरिच लगाए झन पिरो मरिच हुन्छ। जुन बोटमा लगायो त्यहीबाट जरा र हाँगा निकाल्दै झ्याङ्गिएर ठूलो मात्रामा फैलिएपछि मरिच फल्ने गर्छ।
चोप निस्कने बोटमा मरिच लगाउँदा नेपालभरि नै मरिच उत्पादन हुने उनले बताए। उनले भने, ‘हिमाल, पहाड र तराई सबै ठाउँमा उत्पादन हुन्छ, हुन त हिमालमा पनि हुन्छ तर हिमालमा चिसो हुने भएकाले कम मात्रामा उत्पादन हुन्छ। मध्य पहाडमा वा गर्मी हुने ठाउँमा अझ धेरै उत्पादन हुन्छ।’
उनले मरिचको बिरुवा उत्पादनका लागि फलिरहेको मरिचको हाँगा वा जरा काटेर नयाँ ठाउँमा रोप्दा मरिच उत्पादन हुने बताए। उनका अनुसार मरिच एउटा लहरो भएकाले २, ३ मिटरको लहरो काटेर लगाउँदा २०, २५ वटा बिरुवा हुन्छन्।
अर्का कृषिविज्ञले गर्मी ठाउँमा अथवा मध्य पहाडमा मरिच उत्पादन हुने बताए। झापाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका प्रमुख, रविन्द्र सुवेदीले मरिच उत्पादनमा सरकारले तदारुकता देखाउनुपर्ने बताए।
उनले यसको अनुसन्धान,उत्पादन, आयातनिर्यातको नीति नियम र प्रचार प्रसार गरेर मात्रै मरिच उत्पादन गर्न सुझाव दिएका छन्।
सरकारले अनुसन्धान गरी कुन माटो, कस्तो हावापानीमा उत्पादन हुने बुझेर कृषकलाई यसबारे जानकारी दिनुपर्ने उनको भनाइ छ। उनले झापामा सुपारीको बोटमा रोपेर केही कृषकले आफ्नो लागि मरिच उत्पादन गरेको बताए।
नेपालमा उत्पादन गरेको भन्दा बाहिरबाट ल्याउन सस्तो मूल्य पर्ने भएकाले पनि उत्पादनतिर सरकारको ध्यान नगएको हुनसक्ने उनको ठम्याइ छ। उनले भने, ‘मरिचको विषयमा सरकारले लागतको पहिला अध्ययन गर्नुपर्छ। उत्पादन गर्न खर्चिलो पनि हुन सक्छ, यस्तो अवस्थामा नेपालमा उत्पादन गरेको भन्दा बाहिरबाट ल्याउँदा फाइदा हुने भए कसले उत्पादन गर्छ?’
मरिच व्यवसायी र कृषकले सरकारसँग गुनासो गरिरहँदा सरकार भने मुलुकमा मरिच उत्पादन हुने क्षेत्र र अवस्थाबारे समेत अनविज्ञ छ।
कृषि मन्त्रालय, योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. राजेन्द्र मिश्रले आफूहरुसँग मरिच उत्पादनको तथ्यांक नभएको देश सञ्चारसँग बताए। उनले भने, ‘कुुनै ठाउँका कृषकले उत्पादन गरे पनि यति उत्पादन भयो भनेर जानकारी गराएका छैनन्।’