
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट एक चितुवालाई नियन्त्रणमा लिइएको छ। शनिबार बिहान ट्रयापमा पारेर चितुवा नियन्त्रणमा लिइएको संरक्षण क्षेत्रका प्रमुख अरुण चौधरीले बताए।
संरक्षण क्षेत्रमा रहेका कृष्णसार र स्थानीय पशु चौपायालाई मार्न थालेपछि नियन्त्रणमा लिइएको चौधरीले बताए। संरक्षण क्षेत्रअन्तर्गतको बागेश्वरी संरक्षण सामुदायिक वनमा आश्रय लिएर चितुवाले नेपालमा लोप हुन थालको संरक्षित मृग प्रजातीको जनावर कृष्णसारलाई दुःख दिन थालेपछि नियन्त्रणमा लिइएको उनले बताए।
संरक्षण क्षेत्रमा असारयता ९ वटा कृष्णसार मरेका छन्, जसमध्ये ७ वटा चितुवा र स्यालले मारेको उनले बताए।
पुस २८ गतेबाट निगरानी गरेर आवत–जावत गर्ने ठाउँमा खोर राखेका संरक्षण क्षेत्रका कर्मचारीले चितुवा नियन्त्रणमा लिन सकेका थिएनन्। माघ २ गते गएको राष्ट्रिय प्रकृति संरक्षणकाेष बर्दियाको प्राविधिक टोलीको सल्लाहअनुसार राखेको खोरमा चितुवा परेको हो।
अन्दाजी ६ वर्षको पोथी चितुवालाई नियन्त्रणमा लिएर चितवन पठाइसकिएको चौधरीले बताए।
संरक्षण क्षेत्रमा हाल कृष्णसारकाे संख्या १ सय ९१ छ।