
बुटवल – रूपन्देहीका इँटा व्यवसायीले उद्योग संकटमा रहेको भन्दै बचाउका लागि सरकारसँग माग गरेका छन्। लुम्बिनी इँटा उद्योग व्यवसायी संघ, रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गर्दै यस क्षेत्रका इँटा उद्योगहरु चरम संकटमा रहेकाले उद्योग बचाउन सरकारसँग माग गरेका हुन्। इँटा उद्योगलाई बचाउन सरकारले मात्रै सक्ने भएकाले सरकारको ध्यानाकर्षण गरिएको जनाएका छन्।
‘निर्माणको काम न्यून हुँदा ४ वर्षदेखि माग निरन्तर घटदै जानु एकठाउँमा छ, अर्कोतर्फ बैंकको ब्याज बढदै जानु, कच्चापदार्थका रुपमा रहेको माटोको अभाव, स्थानीय तहले लगाउने अनावश्यक कर, कोइला र कामदारको अभाव यस उद्योगमा थप समस्याका रुपमा छन्, समस्या घटनुको साटो बढ्दै जाँदा हामीहरु निकै अप्ठेरोमा परेका छौँ,’ संघका रुपन्देही अध्यक्ष अजयकुमार गुप्ताले भने।
‘पुस/माघ महिना भनेको हाम्रा इँटा उद्योगहरुको लागि पिक आवर हो, अहिले काँचो इँटा तयार गरी इँटा पोल्ने समय हो, तर उद्योगमा कुनै उत्साह छैन, एकाध इँटा उद्योगमा काम सुरु भए पनि अन्य सबै मौन छ्न,’ उनले भने।
अध्यक्ष गुप्ताले यस वर्ष जिल्लामा रहेका ५२ वटा इँटा उद्योगमध्ये २५ प्रतिशत पनि सञ्चालनमा आउन नसक्ने दावी गर्दै सबै उद्योगहरुमा गरी गत वर्षकै करिब ८ करोड गोटा इँटा मौज्दातमा रहेको बताए।
रुपन्देहीमा रहेका ५२ इँटा उद्योगमध्ये अहिलेसम्म एभरेष्ट, जेएम र हिरा इँटा उद्योगले मात्र इँटा उत्पादनको काम सुरु गरेका छन्। प्रतिकूल मौसम थप समस्या रहेको इँटा उद्योगीहरुको भनाइ छ। बजारमा माग घट्दै जादा र गत वर्षकै उत्पादन बिक्री नभई मौज्दातमा रहँदा कति काँचो इँटा तयार गरी भट्टामा हाल्ने हो उद्योगीले सोच्नै नसकेको संघका महासचिव दीपक पौडेलले जनाए।
‘अहिले मौसम पनि त्यस्तै छ, काँचो इँटा सुक्न पनि समस्या, कति बेला पानी पर्छ थाहा हुँदैन, खुल्ला आकाशमुनिका उद्योगमा प्रतिकूल मौसम प्राकृतिक समस्या भइहाले त्यसमाथि अन्य समस्या विकराल रुपमा अघि बढदा हामीहरु चरम संकटमा छौँ,’ उनले भने।
संघका महासचिव दीपक पौडेलले बैंकको ब्याज बुझाउन र तनावबाट जोगिनका लागि व्यवसायीले घाटा खाएर पनि बिक्री गर्न बाध्य भएको बताए। पौडेलका अनुसार रुपन्देहीका प्रत्येक इँटा उद्योगमा ५ देखि ६ करोड रुपैयाँको लगानी छ। पुसदेखि जेठ महिनासम्म चल्ने यो व्यवसायमा एउटा उद्योगमा कर्मचारी र कामदार गरी ७० देखि ८० जना रोजगार छन्।