
मुगु- चिसो छल्न रारा आएका पाहुना चराहरूको गणना गरिएको छ। रारा राष्ट्रिय निकुञ्जकाे कार्यालय, मुगुले सोमबार नेपालकै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरूको गणना गरेको हो।
गणना कार्यमा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयहरूको सहयोग तथा सहभागिता रहेको थियो।
निकुञ्जले चारवटा समूह बनाइ सोमबार बिहान ९ बजे देखि ११ बजेसम्म चराकाे गणना गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय, मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए।
उनका अनुसार कुल ३९२ पाहुना चरा रारा आएका छन्।
पुस-माघ महिनामा रारामा पुगेका पाहुना चराहरू ४-५ महिनाको रारा बसाइँपछि फर्किने संरक्षण अधिकृत घिमिरेले बताए।
चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुञ्जमा २७२ प्रजातिका चरा पाइने यकिन गरिएको थियो भने यसमध्ये ४९ प्रजाति चरा पानी चरा रहेका थिए।
पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरू रारा आउने गरेका हुन्।
पाहुना चराहरु निकुञ्जकाे मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट र निजार क्षेत्रमा खोयाहाँस, कपनकुट लगायतकाका चराहरू प्रशस्त देख्न सकिन्छ।
तालमा मिसिएका स-साना हिमखोलातिर पनि यी चराहरू उक्लिने गरेका छन्।
मंसिर सुरु भएपछि राराको तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठुला-साना चराचुरुंगी देखिनुका साथै चिरबिर चिरबिरको आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय बताउँछन्।