उमेरले ४० नाघेपनि २० वर्ष देखि भारतमा संगीत सिकिरहेका मकरबहादुर योन्जनको जन्म घर सर्लाही हो। अहिले पनि उनका परिवारका केही सदस्य त्यहीँ बस्छन्। २०५२ सालमा मकरका बुबा र आमा सुदूरपश्चिम बसाईँ सरे। उनलाई सानैदेखि गीत गाउन मन पर्थ्यो। उनी संगीत सिक्न भागेर काठमाडौँ आएका थिए। परिवारले उनलाई खासै सहयोग गरेन। आर्थिक अभावका कारण उनी संगीत सिक्न भारत गए। भारतमा काम गर्दै संगीत सिके र थुप्रै लाइभ कन्सर्ट पनि गरे। नेपाल आएको बेला उनको साथीले मकरलाई ‘द भ्वाइस अफ नेपाल’मा जान आग्रह गरे । ‘ब्लाइन्ड अडिसन’मा ‘के लत बस्यो’ भन्ने गीत गाएर लाखौँ दर्शकदेखि भ्वाइसका निर्णायकको मन जिते उनले। सबै निर्णायकले उनलाई आफ्नो टिममा निम्ता गरे तर उनी पुगे राजेशपायल राईको टिममा।
भ्वाइसको सिजन ५ मा उनी फर्स्ट रनर अप भए। उनै मकरसँग विभिन्न विषयमा देशसञ्चारका सुरेश पौडेलले गरेको कुराकानी:
फाइनलिस्ट भएर पनि विजेता नबन्दा कस्तो महसुस भयो?
जस्तो थिएँ, त्यस्तै छु, आफ्नै भाइले जित्यो, म खुसी छु। मेरा शुभचिन्तकहरूले धेरै सहयोग गर्नुभएको छ। त्यही कारणले गर्दा अहिले म यहाँ छु, तपाईँहरुसँग अन्तर्वार्ता गरिरहेको छु। यसको श्रेय सबै मेरा दर्शकश्रोतालाई नै जान्छ। उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु।
भोट माग्न कत्तिको दुख हुने रैछ?
भोट माग्न धेरै दुख हुने रैछ। लास्ट समयमा फाइनलिस्ट भएकाले मैले त केही भोट सम्बन्धी अभियान पनि गर्न पाइन। अन्य प्रतिस्पर्धीहरू २ हप्ता अगाडिबाट नै फाइनलिस्ट भएकाले अभियान गर्न पाए। मैले आफ्नो क्षेत्रमा गएर पनि भोट माग्न र अभियान पनि गर्न पाइन।
फाइनलिस्टमा २ जना मात्रै हुँदा कस्तो महसुस हुन्थ्यो?
म १००% जित्छु जस्तो लागेको थियो र विजय प्राप्त गर्ने विनोदले पनि यही सोच्नु भएको थियो। हामी दुई जनाले कानेखुसी गर्दै एक अर्कालाई मोटिभेट पनि गर्यौँ। जसले जिते पनि एकै हो भनेका थियौँ।

बिजेता बन्न क्षमता हुनु आवश्यक छ कि जनताको माया पाउन?
विजेता बन्नको लागि क्षमता छ भने मात्रै दर्शकको माया पाउने हो। मलाई दर्शकले माया पनि गर्नुभयो। त्यही ट्रफी पो नउठाएको त हो। एक दुई भोट बढी भएर पो विनोदजीले जित्नुभएको हो, बाँकी केही छैन।
फाइनल कार्यक्रममा तपाईँलाई खादा नलगाएको देखियो। के भएको थियो?
भएको के हो भने, लास्टमा दुई जना मात्रै थियौँ, एक जना विजेता हुनैपर्ने थियो। विजेता विनोदको नाम आउँदा बित्तिकै त्यो माहोल अर्कै बन्यो, सबैको ध्यान विनोदतिर गयो। जति पनि सम्मान गर्न आएकाहरु थिए, सबै विनोदतिर गए। मैले खादा लगाएन भनेर सोसल मिडियामा दर्शकले दुखेसो पोखे पछि भाइरल भयो। तर मलाई त्यतिबेला खादा छ कि छैन भनेर थाहा पनि थिएन। म पहिलादेखिनै मानसम्मानको भोको मान्छे होइन र त्यो कारणले गर्दा पनि नोटिस गर्न पाइन।
म एकछिन त्यहाँ बसेँ। केही समयपछि मेरो कोचको आँखाबाट आँसु आउलाजस्तो भएको थियो, अनि कोचसँग गएर बसे। भ्वाइसले जानाजानी त्यो गरेको होइन, त्यो मिस्टेक भएको हो। मलाई कार्यक्रम सञ्चालक सुशील दाइले फोन गरेर थाहा नै भएन भनेर माफी पनि माग्नुभएको थियो।
जुन गीत संगीतको माध्यमबाट दर्शक श्रोतासँग मेरो नाता गाँसिएको थियो, त्यही माया सामाजिक सञ्जालमा पोखिएको हो।
भ्वाइस अफ नेपालका अघिल्ला सिजनमा नजितुञ्जेल कोच नै भगवान हो भनेको सुनिन्थ्यो। बाहिरिएपछि भने कोच पनि बिक्यो भनेको सुनिन्छ। के रैछ सत्यता?
मलाई त्यो थाहा छैन, मेरो मामलामा पनि त्यो भएन। मेरो कोच त्यस्तो हुनुहुन्थेन। यहाँसम्म आउनु भनेको पनि कोचको साथ पाएर हो, नत्र त मलाई ब्लाइन्ड अडिसन हुँदै नकआउट राउन्डबाटै फाल्नुहुन्थ्यो नि। भोटिङको कमी भएपछि त्यो कोचको हातमा त हुने भएन नि। अहिले पनि कोचसँग कुरा भएको छ। प्रोजेक्ट गर्नुपर्छ है बाबु भन्नुभएको छ। हामी गर्छौँ।

अमेरिकाबाट आएका प्रतिस्पर्धीहरूले भ्वाइसमा जितिरहेका छन्। के हो कारण?
लगातार तीन सिजनबाट यस्तो भएको रैछ, मलाई थाहा पनि थिएन। यस्तो भइरहँदा दर्शक श्रोताको मनमा डलर खर्च गरेर जित्यो भन्ने लागेको हो। जसले धेरै भोट हाल्यो त्यसैले जित्ने हो तर पैसा चाहिँ हुन पर्यो। भ्वाइसमा विजेता हुनका लागि क्षमता र पैसा दुवै हुनुपर्छ, दर्शकले गरेको भोटले मात्र जित्न गाह्रो हुन्छ। तर म पनि अमेरिकाबाट आएको भए मैले पनि जित्ने थिए।
भ्वाइस संगीत सिक्ने एउटा प्लेटफर्म हो भनिन्छ। तर तपाईँ २० वर्षदेखि संगीत सिकेको मान्छे, यहाँ आएर के सिक्नुभयो?
भ्वाइसमा आएर सिक्ने केही पनि होइन, भ्वाइसको मञ्चमा आएर तपाईँले सिकेको कति छ देखाउने हो। यहाँ आएर तपाईँले गीत संगीतमा कत्तिको तयारी गर्नुभएको छ, अनुभव कत्ति छ, देखाउने हो। भ्वाइसको मञ्चबाट पैसा, मान, सम्मान कमाउँछु भनेर जाने मान्छेले जित्दैन। भ्वाइसमा आएर के लिनेभन्दा पनि के दिने हो भन्ने सोच्नु पर्छ। तपाईँमा क्षमता छ भने आफैँ अन्वेषण हुन्छ अनि पो माया पाउने हो त, कोचले संगीत सिकाउने होइन बाटो देखाउने हो। तपाईँमा क्षमता छैन भने कोचले देखाएको बाटोमा हिँड्न सकिँदैन।
यस्ता रियालिटी सोका कतिपय विजेता पछि हराएर जान्छन् तर अन्य प्रतिस्पर्धी चम्केको देखिन्छ। यो संयोग हो कि केही छ यसको कारण?
कुनै पनि रियालिटी सोको प्लेटफर्मले बाटो देखाइदिने काम गर्छ, त्यो बाटोमा हिँड्ने काम तपाईँको हो। त्यसपछि तपाईँको अग्निपरीक्षा सुरु हुन्छ, खुट्टा कत्तिको दरिलो छ, त्यही देखाउने हो। अब त्यस्तो किन हुन्छ त्यो विजेताहरूलाई नै थाहा होला। म त भरखर नेपाली गीत संगीत बजारमा आएको मान्छे। अरुद्वारा कम्पोज गरिएका गीत पहिला बजारमा आउँछन्। आँफ्नै कम्पोजमा बनाएका गीत अलि ढिलै आउँछन्। म अरुले के गरेको छन् भन्दा पनि मैले के गरेको छु भन्नेमा विश्वास राख्छु।
मेनुका पौडेललाई नेपालका रियालिटी सोले चिनेनन्, भारतकाले चिन्यो भन्छन्। के नेपालको रियालिटी सोले क्षमतावान मान्छेलाई चिन्दैनन् त?
यस्तो हो के, तपाईँ कुन परिस्थितिमा के काम गर्नुहुन्छ। मेनुका नेपालको रियालिटी सोमा आज भन्दा धेरै वर्ष पहिला जानुभएको हो। त्यतिखेर पनि आफ्नो स्थानसम्म त पुग्नुभएको हो त। त्यहाँ बाट बाहिरिएपछि उहाँले धेरै मेहेनत गर्नुभएर यो स्थानमा पुग्नुभएको हो। त्यसैले यो बीचमा कुदेरै कसैलाई आरोप लगाउन मिल्दैन। अहिले उहाँको जुन परिस्थिति चलिरहेको छ नि त्यसलाई हामिले स्वीकारौँ। जुन स्थानमा उहाँ पुग्नुभएको छ, सबै नेपाली मिलेर एकमुष्ट भएर सेलिब्रेट गरौँ न।

तपाईँले भारतमा त धेरै लाइभ कन्सर्ट गर्नु भयो, नेपालमा के छ योजना?
मैले भारतका मुख्यमुख्य सहरमा पुगेर लगभग ३ हजार लाइभ कन्सर्ट गरेको छु। त्यसको अनुभव छ। भारतको कुनाकाप्चा बाँकी छैन, मैले कन्सर्ट नगरेको। मलाई धेरैले भारतको गुजरातमा चिन्छन्। धेरै डिमान्डहरू आएको छ, नेपालमा पनि लाइभ कन्सर्ट गर्छु तर अहिले गर्दिन। १ वर्ष त भ्वाइसले पनि जान दिँदैन। यदि जान पर्ने भयो भने भ्वाइसलाई सोधेर जाने हो।
भ्वाइसमा आएर तपाईँले के पाउने भयो, के गुमाउनुभयो?
भ्वाइसमा आएर धेरै पाएँ, केही गुमाइन। दर्शकको माया पाउनु भनेको करोडौँ, अर्बौँले किन्न नसकिने हो। भ्वाइसमा आएर म को रैछु भन्ने कुरा देखियो। २० वर्ष भारतमा बसेर साधना गरेको थोरै भए पनि भ्वाइसमा आएर देखियो। थोरै आउँछ संगीत मलाई त्यसैलाई भ्वाइस अफ नेपालको मञ्चबाट बाँड्न कोसिस गरे। अहिलेसम्म जति पनि विधाका गीत गाएको छु, त्यसमा सबै आफ्नोपन दिएर गाउने कोसिस गरेको छु। बाँकी प्रतिस्पर्धीले पनि आफ्नो तहमा मेहनेत गरेका छन्। नगरेका होइनन्। तर मैले आफूलाई जुन रूपले प्रस्तुत गरेको छु, त्यही रुपमा दर्शक श्रोताले माया गर्नुभएको छ।
अब नेपालमै बसेर गीत गाउनुहुन्छ कि फेरि बाहिर जानुहुन्छ?
अब नेपाल बसेर गीत गाउँछु भारत जाँदिन, गए भने संगीत सिक्न जान्छु। दर्शक श्रोताले मैले शब्दसंगीत गरेका गीत कत्तिको मन पराउनुहुन्छ त्यो त हेर्न बाँकी नै छ। मलाई भजन पनि गाउन आउँछ , भारतमा धेरै भजन सम्बन्धी कन्सर्ट पनि गरेको छु । भारतमा त मान्छेको दाहसंस्कार गर्दा पनि गीत गाइन्छ, त्यस्तो खालका गीतहरु पनि धेरै गाएको छु। लोकगीत मलाई धेरै मन पर्छ , झलकमान गन्धर्वका धेरै गीतहरू सुन्छु। दोहोरी गीतहरू मन पर्छ, धेरै सुन्छु । दोहोरी गीतहरु गाउने मान्छेलै एकदम छिटो लय शब्द चयन गर्नुहुन्छ त्यही भएर मलाई मन पर्छ। अब हाम्रो विधामा गीत बनाउन पर्यो भने महिनौँ पनि लाग्न सक्छ। तर दोहोरीमा तुरुन्तै जवाफ दिन पर्छ। त्यो तुरुन्तै जवाफ दिन सक्ने क्षमता मन पर्छ। मलाई लोक गीतमात्र गाउन आउँछ तर दोहोरी आउँदैन।

भर्खरै
लोकप्रिय






































































































































































































