
झापा- झापा गोल्डकपको छैटौं संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ।
झापा गोल्डकप आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौं संस्करणबारे जानकारी दिएको हो।
बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।
यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन्। पाँचौं संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने बस्नेतले बताए।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए।
छैटौं संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए।
यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ।
काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रूपमा रहेको झापा जिल्लालाई फुटबल हबको रूपमा विकसित गराउन झापा गोल्डकप हुँदै आएको छ।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति रहेको थियो।