त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान बिन्दुमा विमानस्थलभित्र कार्यरत कर्मचारीहरुको शरीर जाँच गर्ने कार्य तत्काल बन्द गर्न विभिन्न तीन वटा कर्मचारी संगठनहरुले माग गरेका छन। साथै कर्मचारी संगठनहरुले विमानस्थलमा नेपाल प्रहरीबाट भइरहेको यात्रुको चेकजाँच सशस्त्र प्रहरीबाट हुनुपर्ने मागसमेत गरेका छन।
000
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन। सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको पनि बताएका छन।
000
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विकास र उत्थानका लागि आफै लाग्नुपर्ने बताएका छन। शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ जेठ १९ गतेको राजदरबारमा भएको घटनाबारे जनतामा भ्रम फैलाएर नकारात्मक भावना फैलाउने काम भएको टिप्पणी गरेका छन।
000
मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म रु एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०र८१ को सोही अवधिमा रु दुई खर्ब १० करोड राजस्व सङ्कलन भएको छ। जुन ६ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो।
000
काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ। उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। यस वर्ष हिउँदे वर्षा नभए पनि लगातार चिसो बढिरहेको छ। पहाडी र हिमाली भेगसँगै तराईमा पनि तापक्रम निरन्तर घटिरहेको मौसम विभागले जानकारी दिएको छ।
000
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको पनि उनले बताएका छन।
000
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन। शनिवार काठमाडौंमा एक पुस्तकको विमोचन गर्दै उनले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शीर्ष नेताहरूको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबीसमेत गरेका छन।
000
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन। शनिवार एक कार्यक्रममा उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरेका छन।आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भएपनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको उनको दावी छ।
000
अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन। काठमाडौंमा भएको एक कार्यक्रममा उनले अहिलेकै बाटोमा देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताइन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको पनि बताएकी हुन।
000
पाहुना टोली भुटानको पारो एफसीलाई पराजित गर्दै थ्रीस्टार क्लबले आहारारा पोखरा गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ। शनिबार दिउँसो पोखरा रंगशालामा भएको खेलमा २–० गोल अन्तरको हार व्यहोर्दै पहिलो सहभागिताको पहिलो खेलबाट पारो घर फर्किएको हो। थ्रीस्टार आहारारा पोखरा गोल्डकपको २३ औँ संस्करणसम्म आइपुग्दा ५ पटक उपाधि जितिसकेको टोली हो।