
झापा- चुनाव भएर यतिका बर्ष बित्दा पनि सांसदले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै झापा मेचीनगर १५ का युवाले ‘सांसद हराएको सूचना’ लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले प्लेकार्ड बोकेर खोजेका हुन् ।
संघीय संसदमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधित्व गर्छन् ।
मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरुले सार्वजनिक रुपमै सांसदलाई खोजेका हुन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरुले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका हुन् ।
शनिवार बिहान स्थानीय यूवाहरुले निर्माणाधिन झोलुङ्गे पुलमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर बिरोध जनाए । मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेट अभावका कारण निर्माणको काम रोकिएपछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरु समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले स्थानीय युवाहरुले दबाब मूलक कार्यक्रम गरेका हुन् ।
झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्माले उक्त पुलको शिलान्यास गरेका थिए । तर, शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलका लागि खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका कारण सासंद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीको भनाइ छ ।