
काठमाडौँ – २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजनामा लक्ष्मी सन्राइज बैंकले लगानी गर्ने भएको छ।
कास्की जिल्लामा रहेको सेती नदीमा २० मगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने विषयमा लक्ष्मी सन्राइज बैंक र अपर सेती हाइड्रो प्रा.लि. बीच लगानी सम्झौता भएको हो।
आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ। अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि अनुमति पत्र लिएको थियो। यस्तै, गत असोज १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ।
सो कम्पनीको प्रवर्द्धकको रुपमा केसी ग्रुप रहेको छ। परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक/संस्थापकहरुको लगानी रहने छ।
लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ। २० मेगावाट क्षमताको सो आयोजना निमार्णपश्चात वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ।