पार्टीभित्रका ‘शक्तिविहीन’हरूका आड थिए केशवकुमार बुढाथोकी

पार्टीभित्रका ‘शक्तिविहीन’हरूका आड थिए केशवकुमार बुढाथोकी
+
-

झापा- पन्ध्र दिनअघि मात्र झापाको अर्जुनधारा नगरपालिकाको एउटा सामुदायिक विद्यालयमा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका पुराना नेता केशवकुमार बुढाथोकी नेपालमा खेलकुद क्षेत्रलाई स्थापना गर्दाबेलाका कुरा बताउँदै थिए।

उनले भनेका थिए,  ‘मलाई कतै जानु छैन। म तपाईंहरूको अभिभावक भएर बस्नु छ। विद्यालयका विषयमा मैले केही गर्नु छ भने मलाई भन्नु होला। म सकेको सहयोग गर्न तयार छु।’

खासगरी नेता बुढाथोकीको गृहनगर अर्जुनधाराका जनताका लागि उनी एक अभिभावकको रूपमा परिचित थिए। उनले विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए,  ‘तपाईंहरूको समस्यामा मलाई पनि सामेल गर्नुहोस्। म पनि सहयोग गर्न तयार छु।’

त्यसकाे केही दिनमा उनी प्रोस्टेट क्यान्सरका कारण सिकिस्त भए। विराटनगरस्थित विराट नर्सिङ होममा उनलाई भर्ना गरियो। अवस्था झन् बिग्रिँदै गयो। अन्ततः सोमबार राति ११: ३० बजे उनको उपचारकै क्रममा निधन भयो।

चाहे बिरिङ खोलामा आउने बाढीका बेला होस्, चाहे जंगली हात्तीका मान्छे त्रसित भएका बेला, उनी जनतासँगै हुन्थे। झापाको क्षेत्र नं ४ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य भएका बेला बुढाथोकीले गरेका कामका बारेमा उक्त क्षेत्रका जनताले अहिले चर्चा गर्ने गरेका छन्।

जहाँ गए पनि जोसँग भेटे पनि हाँसेरै नबोली नसक्ने नेताका रूपमा उनी परिचित थिए। नेपाली कांग्रेसभित्र त झन् ज‍सलाई अप्ठ्यारो परेको छ र पार्टीमा ‘शक्तिशाली’हरूको हेपाहा प्रवृति हुँदा उनी तिनै हेपिएकाहरूका पक्षमा लाग्थे।

उनको निधन भएपछि अर्जुनधारा निवासी साहित्यकार कुमार भट्टराई सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्,  ‘हार्दिक श्रद्धाञ्जलि केशव दाइ। शक्तिबिहीनहरूले आड लाग्ने भित्तो ढलेको आभाष भएको छ।’

‘सेतो बाघ’ उपनामले परिचित बुढाथोकी कांग्रेसभित्र हक्की स्वभावका नेताको रूपमा चिनिन्थे। बुढाथोकी चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए। पञ्चायतकाल अर्थात् २०२४ सालमा विद्यार्थी आन्दोलनमार्फत् राजनीतिमा उदाएका थिए। पञ्चायत सत्ताको विरोध गरेका कारण उनको परिवार निर्वासनमा पनि परेको थियो। त्यही प्रेरणाबाट उनी राजनीतिमा आएको उनलाई चिन्नेहरू बताउँछन्।

बुढाथाेकी पञ्चायतविरुद्धको आन्दोलनका क्रममा ९ महिना जेल पनि परेका थिए। कुनै समयका पञ्चायत विरोधी उनी कालान्तरमा पञ्चायतका पक्षपाती बन्दै पञ्चायत निकट युवक संगठनको झापा जिल्ला सभापति मात्रै बनेनन्,  राष्ट्रिय पञ्चायत सदस्यको रूपमा समेत विजयी भए।

पार्टीभित्र आफ्ना विचार स्पष्टसँग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसँगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरूको भनाइ छ।

कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलासँग सैद्धान्तिक तथा व्यावहारिक रूपमा ठ्याक्कै नमिल्ने बुढाथोकी गएको प्रतिनिधिसभा निर्वाचनमा झापाको क्षेत्र नं २ बाट चुनाव लड्ने मन हुँदाहुँदै पार्टीले छेकबार लगाएपछि निकै विक्षिप्त बनेका थिए। त्यसपछि लामो समय उनी विदेशमा रहेकी छोरीसँग बसेका थिए।

उनको पार्थिव शरीरको मंगलबार कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्

कांग्रेस नेता केशव बुढाथोकीको निधन

कांग्रेस नेता केशव बुढाथोकीको निधन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?