
इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको लिभरपुल र आर्सनलले आ-आफ्ने खेलमा जित निकाल्दा साविक च्याम्पियन म्यानचेस्टर सिटी भने चेल्सीसँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफर्डलाई ४-१ ले पराजित गरेको थियो। डार्विन नुनेज, म्याक एलिस्टर, मोहम्मद सलाह कोडी गाक्पोले समान १-१ गोल गरेका थिए। ब्रेन्टफोर्डका लागि टोनीले एक गोल फर्काए।
अर्को खेलमा आर्सनलले बर्नलीमाथि एक पक्षीय जित निकाल्यो। बर्नली माथी ५-० को जित निकाल्दा आर्सनलका बुकायो साकाले २ गोल गरे।
त्यस्तै, कप्तान मार्टिन ओडेगार्डले चौथो मिनेटमै टोलीलाई अग्रता दिलाउँदा लियान्ड्रो ट्रोसार्ड र काइ हावर्टले पनि गोल थपेका थिए।
त्यस्तै अर्को उपाधि दाबेदार म्यानचेस्टर सिटीले भने अन्तिम समयमा सम्भावित हार टारेको थियो। आफ्नो पूर्व क्लब विरुद्ध चेल्सीका लागि रहिम स्ट्रालिङले पहिलो गोल गर्दै पहिलो हाफमा चेल्सीलाई अग्रता दिलाएका थिए। तर खेलको ८३ औं मिनेटमा रोड्रिले गोल गर्दा सिटीले एक अङ्क खोस्न सफल भयो।
त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २-१ ले हराउँदा टोटेनह्याम वल्भेससँग २-१ ले स्तब्ध भयो। त्यस्तै नोटिङ्घम फोरेस्टले वेस्टह्यालाई २-० ले हराउँदा न्युक्यासल र बोर्नेमाउथले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे।
लिगमा २५ खेलपछि लिभरपुल ५७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा आर्सनल समान खेलबाट ५५ अङ्क बनाउँदै दोस्रो स्थानमा उक्लियो। चेल्सीसँगको बराबरीले तेस्रो स्थानमा झरेको सिटीको २४ खेलबाट ५३ अङ्क रहेको छ। त्यस्तै एस्टन भिल्ला ४९ अङ्कका साथ चौंथो स्थानमा उक्लिँदा पराजित टोटेनह्याम ४७ अङ्कका साथ पाँचौं स्थानमा छ।