
काठमाडौँ – दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–४ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको अध्यक्षतामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो।
स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्ने बताए। स्वास्थ्य नै धन हो भन्नेमा कसैको दुईमत हुन नसक्ने भन्दै शारीरिक व्यायामका साथै उचित खानपानमा ध्यान दिनसमेत उनले सबैमा आग्रह गरे।
‘रोगको पहिचान गरौँ, अकाल मृत्युबाट बचौँ भन्ने नारासहित बन्चरेस्थित जनकल्याण आधारभूत विद्यालयमा फागुन ७ र ८ गते स्वास्थ्य शिविर सञ्चालन गरिएको वडाध्यक्ष दीपक खुलालले जानकारी दिए।
स्वास्थ्य शिविरमा तीन सय ६१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमा १८ जनामा जटिल स्वास्थ्य समस्या देखिएको सिँगटी प्राथमिक अस्पतालका ईश्वर खड्काले बताए।
शिविर कालिञ्चोक गाउँपालिका र वडा नं. ४ को संयुक्त आयोजनामा साथै धुलिखेल अस्पातल, दोलखाको वरिष्ठ गाइनोलोजिस्ट (स्त्री रोग), हाडजोर्नी, आँखा, दात र जनरल फिजिसियन रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वस्थ्य शिविर सञ्चालन गरिएको कांग्रेस वडा सभापति राजकुमार श्रेष्ठले जानकारी दिए।