अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन। लुम्बिनी प्रदेश सभाले सूचना जारी गर्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्मका लागि यादवलाई निलम्बित गरिएको जानकारी दिएको छ। वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनी राप्रपाका सांसद हुन।
०००
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले आज सार्वजनिक गरेको छ। शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका–१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई शुक्रबार राति उनि बस्ने कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाले जनाएको छ।
०००
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफै भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन। शनिबार संसद भवनमा भएको एक कार्यक्रमा बोल्दै उनले राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न गएको बताएका हुन।
०००
एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन शनिबार विधिपूर्वक समापन गरिएको हो। यस्तै काठमाडौँको साँखुस्थित शाली नदीमा एक महिना लामो माधवनारायण व्रत पनि समापन गरिएको छ। स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ।
०००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले लहडको भरमा सामाजिक सञ्जाल बन्द गर्नेकुराले लोकतन्त्रलाई संस्थागत गर्न नसकिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नियमन र निगरानीको बाटो हुँदाहुँदै बन्द गर्ने अवस्थामा नरहेको बताएका हुन। सत्तामा हुनेलाई केही कुरा बिजायो भन्दैमा बन्द गरिदिने कुराले समस्याको समाधान नहुने उनको भनाइ थियो।
०००
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
०००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन। सुनसरीमा धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताएका हुन।
०००
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन। शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने बताएका हुन। बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका थिए।
०००
कालो सुनले परिचत अलैँचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साही भएका छन। गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन। एक मनमा ४० केजी अलैँची हुन्छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ।
०००
र पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ। सरकारको पछिल्लो तथ्यांकअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो। जसमा आर्थिक वर्ष २०२२– २३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो। यो २००५ २००६ पछिकै कम स्वीकृत भएको हो। यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































