
झापा- झापा मेचीनगर १५ को भगवती प्लाइउड उद्योगमा लागेको आगो १६ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा बिहान पाँच बजेदेखि सुरू भएको आगलागी १६ बित्दा पनि नियन्त्रणमा नआएको हो ।
अहिले पनि पाँचवटा दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आगो पूर्ण नियन्त्रणमा आउन केही समय लाग्छ । तर अन्य घरमा आगो फैलिन सक्ने संभावना नरहेको कार्यालयले जनाएको छ ।
उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ । जस्ताले घेरिएको र सुकेका काठका गोलिया भएकाले आगो नियन्त्रणमा लिन गाह्रो भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि दिनभर १० वटा दमकल प्रयोग गरिएको थियो । त्यसबाट नियन्त्रणमा नआएपछि मोरङबाट थप दमकल मगाइएको थियो ।