
काठमाडौँ– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।
बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखेका हुन।
उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए।
उनले राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभा सभामुख बाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रिय सभा सदस्यहरूको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए।
उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधि सभालाई नभइ संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए।
उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए। उनले संघीय संसदमा संयुक्त बैठकहरूको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए। उनले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताए।
उनले भने,’प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्छ। समान जिम्मेवारी पूरा गर्नुपर्छ। संघीय संसदमा संयुक्त बैठकहरूको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्छ। एकदिन अध्यक्ष र अर्कोदिन सभामुखले। राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्छ। राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्छ। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्छ।
उनले राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गरे।