लागुऔषध नियन्त्रणमा स्थानीय सरकार उदासीन, प्रहरीको कार्यक्रममा आएनन् अधिकांश जनप्रतिनिधि

लागुऔषध नियन्त्रणमा स्थानीय सरकार उदासीन, प्रहरीको कार्यक्रममा आएनन् अधिकांश जनप्रतिनिधि
+
-

झापा- लागुऔषधको प्रयोग र ओसारपसारमा अग्रणी जिल्लाका रुपमा झापालाई चिनिन थालिए पनि स्थानीय सरकार प्रमुखहरू भने यसतर्फ गम्भीर बन्न सकेका छैनन् ।

लागुऔषधको प्रयोगले देश नै तहसनहस अवस्थामा पुगिरहँदा सीमावर्ती झापाका पालिकाका प्रमुखहरू ‘कानमा तेल हालेर’ बसेका छन् । प्रहरी प्रशासनले लागुऔषध नियन्त्रणमा हातेमालो गर्न खोज्दासमेत सहकार्य गर्न उनीहरू अनिच्छुक देखिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापा र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले मंगलबार बिर्तामोडमा समुदाय प्रहरी साझेदारीअन्तर्गत लागुऔषधसम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेका थिए ।

अभियानका रुपमा संचालन गर्ने उद्देश्यले आयोजित त्यस कार्यक्रममा झापाका १५ वटै पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूलाई बोलाइएको थियो । त्यस महत्त्वपूर्ण कार्यक्रममा केही जनप्रतिनिधि मात्र उपस्थित भए । लागुऔषधको प्रयोग र ओसारपसारको विकराल समस्या उनीहरूको प्राथमिकतामा पर्न सकेन ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी गरी ३५० जनालाई बोलाइएको थियो । तर, कार्यक्रममा त्यसको आधा पनि उपस्थित भएनन् ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, दमक नगरपालिकाका प्रमुख राम थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल मात्र उपस्थित भए ।

मेचीनगरका प्रमुख बुढाथोकी र दमकका प्रमुख थापा कार्यक्रम सकिनुअगावै निस्किएका थिए भने भद्रपुरका प्रमुख पोखरेल केही ढिलो गरी कार्यक्रम हलमा प्रवेश गरेका थिए ।

उपप्रमुखहरूमा बिर्तामोडका नगेन्द्रप्रसाद संग्रौला, दमककी रेगिना भट्टराई प्रसाई, कनकाईकी आशा शर्मा शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मीदेवी मैनालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गौरादह, शिवसताक्षी, बाह्रदशी, कमल, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकाबाट कोही पनि आएन । जिल्लाभरिका सुरक्षा निकायका प्रमुख र सुरक्षा अधिकारीहरूको सहभागिता रहेको कार्यक्रमप्रति जनप्रतिनिधिहरुले खासै चासो नदिँदा कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य पूरा हुन सकेन ।

समाजमा व्याप्त लागुऔषध प्रयोग र ओसारपसार नियन्त्रणमा स्थानीय सरकारको मुख्य भूमिका हुनुपर्ने झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

उनले प्रहरी र स्थानीय तहले संगै सहकार्य गर्दा मात्र लागुऔषध नियन्त्रण गर्न सकिने धारणा राखे । समाजका सरोकारवाला निकाय, राजनीतिक दल, तिनका भ्रातृ संस्था, सामाजिक संघ संस्था, पत्रकारलगायतको सहयोगमा मात्र लागुऔषध नियन्त्रणको अभियान सफल हुनसक्ने प्रहरी उपरीक्षक केसीले बताए ।

भौतिक पूर्वाधारको निर्माणमा मात्र ध्यान नदिई मानवीय विकास र सचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकतामा राख्न उनले जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

कार्यक्रमलाई सहजीकरण गर्दै लागुऔषध नियन्त्रण व्युरो काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले देशमा लागुऔषधको अवस्थाबारे जानकारी दिएका थिए ।

पालिकाका जनप्रतिनिधिले समाज जोगाउने महत्व राखेको कार्यक्रमलाई ध्यान नदिए देखेर युवा संघकी नेतृ रोजिना पाण्डेले निकै व्यङ्ग्य हानिन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिहरू निकै व्यस्त हुनुहुँदो रहेछ । यो कार्यक्रमलाई कतिको प्राथमिकता दिनुहुन्छ भन्ने प्रष्ट भयो ।’

लागुऔषध नियन्त्रण व्युरो काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक थपलियाको केही समयको यो प्रस्तुतिपछि कार्यक्रम हलमा करिब प्रहरीमात्र देखिएका थिए । पालिकाका प्रमुख तथा उपप्रमुख बोल्ने बेलामा हल करिब खाली भइसकेको थियो । त्यहीबीचमा पनि लागुऔषध नियन्त्रणमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देनले नगरपालिका कार्यालयले धेरै काम गरेको दाबी गर्न भ्याए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?