
इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरातले विजयी सुरुवात गरेको छ।
गुजरातले आफ्नो घरेलु मैदान अहमदाबादमा भएको खेलमा मुम्बईमाथि ६ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि साइ सुदर्शनले ४५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋद्दिमान साहाले १९ रन बनाउँदा कप्तान शुभमन गिलले ३१ रन बनाए।
त्यस्तै अज्मतुल्लाह ओमरजाइले १७ रन बनाउँदा डेभिड मिलर १२ र राहुल तेवेतीया २२ रनमा आउट भएका थिए। मध्यम स्कोरमा समेट्ने क्रममा मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा जेराल्ड कोट्जेले २ र पियुष चावलाले १ विकेट लिएका थिए।
१ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बई छिल्लो क्रम सम्हालिन नसक्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रनमा समेटियो। मुम्बईका लागि डेवाल्ड ब्रेभिसले ४६ रन बनाएका थिए भने रोहित शर्माले ४३ रन बनाए।
त्यस्तै नमन धिरले २० रन र तिलक बर्माले २५ रन बनाए। थप दोहोरो स्कोरका रुपमा टिम डेभिड र कप्तान हार्दिक पाण्ड्याले ११-११ रन बनाएका थिए। गुजरातका लागि अजमुल्लाहा ओमरजाइ, उमेश यादव, स्पेनसर जोनसोन र मोहित शर्माले समान २-२ विकेट लिए।
लिगमा आज रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाव किंग्स बिच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा बैंगलोर पराजित भएको थियो भने पञ्जावले जित हासिल गरेको थियो। खेल ७:४५ मा बैंगलोरमा हुनेछ।