
काठमाडौँ – क्रोएसिया पठाइदिन्छु भन्दै ३ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने मिङ्मार लामालाई प्रहरीले मंगलबार काठमाडौँको वौद्धबाट पक्राउ गरेको हो।
मिङ्मारले आमान बोम्जन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि क्रोएसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै ३ लाख रुपैयाँ लिई फरार भएका थिए।
मिङ्मारलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताचहल पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, पोर्चुगल पठाइदिन्छु भन्दै झण्डै १२ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
लमजुङको मध्यनेपाल नगरपालिका ५ घर भई हाल ललितपुर महानगरपालिका २५ मगर गाँउ बस्ने प्रकाश वंशी ठकुरीलाई प्रहरीले मंगलबार काठमाडौँको बालुवाटारबाट पक्राउ गरेको हो।
प्रकाशले विशाल चौहानसमेत ३ जना लाई वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै ११ लाख २७ हजार रुपैयाँ लिई फरार भएका थिए।
प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताचहल पठाइएको प्रहरीले जनाएको छ।