
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका विषयमा ‘फुर्ती’ नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
एमाले झापाको ११ औँ अधिवेशन उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको दाबी गरे।
उनले भने, ‘कांग्रेस अलि शक्तिशाली भयो भने फेरि पनि बुथ कब्जा गरेर चुनावमा जबरजस्ती गर्छ। अहिले पो कांग्रेस कमजोर भएको छ।’ कांग्रेसले निषेधको राजनीति गरेको उनको आरोप थियो।
नेपालमा पञ्चायतविरुद्ध कहीँकतै आन्दोलन गर्ने वातावरण नभएका बेला आफूहरूले विद्रोहमार्फत झापाबाट आन्दोलन सुरु गरेको उनले बताए। झापा विद्रोहमार्फत आन्दोलन गर्दै पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकाएको बताए।
उनले भने, ‘त्यो बेलाको झापालीको आन्दोलनले पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकायो। जुनबेला तत्कालीन शासकविरुद्ध कसैले पनि आवाज उठाउन सक्दैन थियो।’
नेपालमा वामपन्थी विद्रोहले देशलाई सही बाटो दिएको ओलीको दाबी थियो। उनले भने, ‘झापाली आन्दोलनले संघर्ष र देशभक्तिको बाटो देखाएको छ। यो आन्दोलनको असाधारण महत्व छ।’
आफूले अहिले पनि पार्टीमा गलत नीति अवलम्बन नगरेको उनले दाबी गरे। ती नीतिहरूलाई कसैले गलत भन्छ भने बहस गर्न तयार रहेको उनको भनाइ थियो।
देशको रानीतिक परिवर्तनमा झापाको योगदान अतुलनीय रहेको एमाले अध्यक्ष ओलीले बताए। अनेक पटकका नेपालको लोकतान्त्रिक आन्दोलनमा झापाको योगदान तारिफ गर्न योग्य रहेको उनले बताए।
उनले भने, ‘झापा जिल्ला लालकिल्ला हो। लाल किल्ला बनाउनुपर्छ।’ मिसन ८४ का लागि ‘अर्जुनदृष्टि’ राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए।