
झापा- झापाको भद्रपुर नगरपालिका वडा नं ३ मा रहेको किचकबधको सातौं चरणको उत्खननबाट ऐतिहासिक पुरातात्विक महत्त्व बोकेका भवनका संरचना भेटिएका छन्।
देउनिया तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको सातौं चरणको उत्खननको काम पूरा भएकाे हो।
२०५८ सालमा पहिलो पटक पुरातत्वविद उद्धव आचार्यको नेतृत्व टोलीले उत्खनन् सुरु गरेको थियो भने निरन्तर सातौं पटकसम्मको उत्खननको कामको आचार्यले नै गरेका हुन् ।
यस पटकको उत्खनन १७ दिन लगाएर गरिएको थियो।
सातौं पटकसम्मको उत्खननमा आइपुग्दा उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिमदक्षिण अर्को बहुतले भवन र यी ४ वटा भवनको दक्षिणतिर २ सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको अर्को दुई तले भवन गरी ५ वटा भवनका संरचना फेला परेको पुरातत्वविद आचार्यले बताए।
फेला परेका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको आचार्यले बताए।
यस आधारमा किचकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको आचार्यले जानकारी दिए।
पुरातत्वविद आचार्यका अनुसार भारतमा शुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुनसक्छ। पाँचौं शताब्दीसम्म अर्थात् भारतको गुप्तकालसम्म कायम रहेको अनुमान छ।
त्यस समयमा यस क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण यो स्थल ध्वस्त भएको हुन सक्ने फ्रेन्च भूगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यले बताए।