
मुगु – गमगढीबाट उत्तर–पश्चिममा पर्ने सोरूकोट सडक सन्जालमा जोडिएपछि त्यहाँको चहलपहल निकै बढेको छ। गमगढी बजारबाट पैदल दुई दिनको बाटो हिँडेर सोरूकोट मुस्किलले पुगिन्थ्यो।
सोरूकोटबाट पनि गमगढी जाँदा उत्तिकै समय लाग्थ्यो। तर, आजभोलि दुई घण्टामै गमगढी पुग्न सकिन्छ। सोरू गाउँ नचारा निवासी जग्गबहादुर शाही भन्छन्, ‘घरबाट सामल बोकेर सदरमुकाम गमगढी जाँदा जहाँ साँझ पर्छ त्यहीँ कतै बास बस्नुपथ्र्याे, कहिले घर त कहिले ओडारमा। तर, अहिले गाडीले सहज भएको छ। गमगढी जाँदा एकै दिन काम गरेर बेलुका घर पुगिहाल्छौँ, समयको पनि बचत भएको छ।’
दिनभर बाटो हिँड्दा थकाइ लाग्ने र गमगढी पुगेर होटलमा बास बस्नुपर्दा खर्चसमेत बढ्ने गरेको शाही सुनाउँछन्।
सडक सन्जालमा जोडिएपछि सोरूकोटमा बजारसमेत विस्तार भएको छ। दैनिक ८–१० वटा जिप गमगढीबाट सोरूकोटका लागि छुट्ने गर्छन्।
यातायातको सहज आवतजावत भएपछि सोरूकोटमा व्यापार व्यवसायसमेत मौलाएको छ। सानातिना होटल पनि सञ्चालनमा आएका छन्। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको पनि सोरूकोटमा बाक्लो उपस्थिति हुने गर्छ।
सोरूकोटबाट मोतीझँै टल्किने सैपाल हिमालको दृश्यावलोकनसमेत गर्न सकिने हुनाले आन्तरिक तथा बाह्य पर्यटकको समेत बाक्लै चहलपहल बढ्ने गरेको छ।
सोरू गाउँपालिकाका सबै प्रशासनिक काम यहीँबाट सम्पादन हुने हुँदा दूरदराजदेखि घण्टौँ लगाएर आउने सेवाग्राहीलाई समेत निकै सहज भएको छ।
अभावै अभावले विभिन्न समस्या झेल्दै आएका सोराल यातायात सहज भएकाले अब समृद्धिको बाटोतिर अघि बढ्न सजिलो हुने बताउँछन्। विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगे पनि सोलार, पेल्ट्रिक सेटले गाउँ बस्ती झिलिमिली भएका छन्।
मुगु कर्णाली नदीको छेउमै रहेको तारापानी हुँदै सोरूकोट पुग्न सकिन्छ। दाल खाने अत्यन्तै स्वादिलो हिमाली मास उत्पादन हुने जिल्लाकै मुख्य ठाउँ सोरू नै भएकाले मास, सिमी बेचेर सोरालहरू राम्रो आम्दानी गर्छन्।
हुम्ला जोडिएको कर्णाली करिडोर केही माथि आडमै सोरूकोट बजार रहेको छ। बजारमा विस्तारै आधुनिक भवन बन्न थालेका छन्। ढुंगा माटोले बनेका स–साना कलात्मक घरले सोरुकोटको वास्तविक पहिचान झल्काएको छ।
ब्राह्मण–क्षेत्री एवं दलित समुदायको बसोबास रहेको उक्त बस्तीको सत्कारले र बाहिरबाट यहाँ आइपुग्ने जो–कोही आकर्षित हुने गर्छन्।
यहाँको आफ्नै वेशभूषा, कला र परम्परागत संस्कृतिले सोरू भेग जाने जो–कोही मोहित हुन्छन्। हिमाली जिल्ला भएर पनि होला सायद मध्यपहाडजस्तो हावापानी भएको सोरूको बेंसीतिर उखु, केरा, मेवालगायत नगदेबाली स्थानीयको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ।
सोरूकोट गाउँपालिकास्थित पुरूमुरूका बासिन्दा शेरबहादुर मल्लले केरा बेचेर राम्रो आम्दानी गरेको बताए। गाडी पुगेसँगै गुच्ची च्याउ, चिराइतो, भुल्तेलगायत जडीबुटीबाट पनि सोरूका स्थानीयले लाखौँ रूपैयाँ आम्दानी गर्दै आएका छन्।
ढुवानीमा सहजता भएसँगै सोरू भेगको रूप रंग नै बदलिएको छ। तर, सम्बन्धित निकायले यातायात विस्तार भएसँगै, खानेपानी, विद्युत्का लागि राष्ट्रिय प्रसारण लाइन विस्तार, सिँचाइजस्ता भौतिक पूर्वाधार र सडक स्तरोन्नति एवं कालोपत्रे गर्नुपर्ने स्थानीयले माग गरेका छन्।