
काठमाडाैँ – गुजरात भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आफनो तेस्रो खेलमा गुजरातलाई जितका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
उत्कृष्ट ओपनिङ साझेदारी हुँदा नेपालले उच्च स्कोर बनायो। पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी भएपनि त्यसपछि डेथ ओभरमा भने नेपालले अपेक्षित रन बनाउन सकेन।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखका बिच पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी भयो। कुशल ४४ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६७ रन बनाएर आउट हुँदा आसिफ शेख ५१ बलमा १० चौका र ५ छक्काको सहयोगमा ८५ रन बनाएर आउट भए। त्यसपछि क्रिजमा आएका कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन नसक्दा नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनको स्कोर बनाउन सफल भयो।
प्रतियोगितामा लगातार दुई जितसहित फाइनल नजिक रहेको नेपालले आज गुजरातलाई हराए एक खेलअगावै फाइनलमा पुग्ने छ। एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गतको त्रिकोणत्मक सिरिजमा यसअघि नेपालले बरोडालाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको थियो। त्यसअघि आफ्नो पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो।